सिन्धुलीमा जङ्गली च्याउको तरकारी खाँदा बालबालिकासहित ६ जना बिरामी

सिन्धुली, ३१ वैशाख – सिन्धुलीमा जङ्गली च्याउको तरकारी खाँदा तीन परिवारका पाँच बालबालिकासहित ६ जना बिरामी परेका छन् । बिरामीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मरिण गाउँपालिका–३ नक्कलीका सुजन विक, अर्जुन विक र रवी विकका परिवारका सदस्य जङ्गली च्याउ सेवनपछि बिरामी परेका हुन् ।

बिरामी हुनेमा सुजन विककी १४ वर्षीया छोरी सङ्गीता सेन्चुरी, १६ वर्षीय छोरा मिलन सेन्चुरी, अर्जुन विककी ९ वर्षीया छोरी ऋतिका विक, १० वर्षीया सुमित्रा विक, रवी विकका ६ वर्षीय छोरा कपिल विक तथा स्थानीय ७० वर्षीया हस्तमाया विक रहेका छन् । प्रहरीका अनुसार जङ्गली च्याउ सेवन गरेका मध्ये हस्तमायाको अवस्था गम्भीर रहेको छ । च्याउ खाएर विद्यालय पुगेका बालबालिका अचानक बिरामी परेपछि घटना सार्वजनिक भएको हो ।

विद्यालयमै स्वास्थ्य समस्या देखिएपछि शिक्षकहरूले उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट पुर्‍याएका थिए । त्यसमध्ये गम्भीर अवस्थाका तीन जनालाई थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको प्रहरीले जनाएको छ । सङ्गीता, कपिल र हस्तमायालाई जिल्ला अस्पताल सिन्धुली रेफर गरिएको छ भने बाँकी तीन जनाको कपिलाकोटमै उपचार भइरहेको छ ।

Facebook Comments Box