होर्मुज स्ट्रेटमा इरान र अमेरिकाबीच भएको झडपका क्रममा भारतीय कार्गो जहाज समुद्रमा डुब्यो
काठमाडौं, २६ वैशाख – होर्मुज स्ट्रेट क्षेत्रमा इरान र अमेरिकाबीच भएको नौसैनिक झडपका क्रममा एक भारतीय कार्गो जहाज समुद्रमा डुबेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय अनलाइन दैनिक ‘दैनिक भास्कर’का अनुसार गुजरातको द्वारका जिल्लाको सलायासँग सम्बन्धित ‘एमएसभी एएल फैज नुर-ए-सोलेमानी-आई’ नामक जहाज दुर्घटनामा परेको हो ।
उक्त जहाज दुबईबाट यमनको मुकाल्ला बन्दरगाहतर्फ कार्गो सामग्री बोकेर जाँदै थियो । दुर्घटनामा चालक दलका सदस्य अल्ताफ तालब केरको मृत्यु भएको बताइएको छ । जहाजमा सवार बाँकी १७ जनाको भने उद्धार गरिएको छ ।
भारतीय नौकायन जहाज संघका महासचिव आदम भाइले घटनाको पुष्टि गर्दै उद्धार तथा आवश्यक सहयोगका लागि दुबईस्थित भारतीय दूतावासलाई इमेलमार्फत जानकारी गराइएको बताएका छन् । जहाजमा चालक दलका १८ सदस्यसहित एक जना बन्दुकधारी सुरक्षाकर्मी पनि रहेको जनाइएको छ ।

