रोशी खोलाको भेलमा गाडी हालेका पाँच चालक पक्राउ, ८९ यात्रुको सकुशल उद्धार

काठमाडौं, २२ वैशाख  – उर्लिएको रोशी खोलाको भेलमा जबर्जस्ती सवारी साधन प्रवेश गराएर यात्रुको ज्यान जोखिममा पार्ने पाँच जना चालकलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार गाडीसहित खोलामा फसेका ८९ यात्रुको भने मध्यराति सकुशल उद्धार गरिएको छ।

मंगलबार साँझदेखि परेको अविरल वर्षाका कारण रोशी खोलाको बहाव बढ्दा रोशी गाउँपालिका–७ घुमाउने चारसय वेशी क्षेत्रमा पाँच वटा माइक्रोबस खोलामा फसेका थिए। पूर्वतर्फबाट काठमाडौं आउँदै गरेका ती सवारीमा सवार यात्रुहरू जोखिममा परेपछि उद्धार कार्य सुरु गरिएको थियो। नेपाली सेना, नेपाल प्रहरीसशस्त्र प्रहरी बलको संयुक्त टोलीले उद्धार अभियान सञ्चालन गरी बुधबार बिहान करिब १ बजे सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार सुरक्षाकर्मीहरूले जोखिमको अवस्थालाई ध्यानमा राख्दै सवारी आवागमन रोक्न निर्देशन दिएका थिए। तर चालकहरूले सो निर्देशन अवज्ञा गर्दै लापरवाहीपूर्वक गाडी चलाएका कारण उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका चालकहरूलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box