नेपालमा प्रेस स्वतन्त्रता हननका घटना अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढ्यो
काठमाडौँ, २० वैशाख – नेपालमा प्रेस स्वतन्त्रता हननका घटना अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेका छन्। नेपाल पत्रकार महासङ्घ ले मे ४, २०२५ देखि अप्रिल ३०, २०२६ सम्म गरेको अध्ययनअनुसार १३१ वटा घटना अभिलेख भएका छन्, जबकि अघिल्लो वर्ष ७३ वटा मात्रै घटना दर्ता भएका थिए।
महासङ्घका अनुसार पत्रकारमाथि दुर्व्यवहार तथा धम्कीका ५१, पत्रकार तथा सञ्चार सामग्रीमाथि आक्रमणका ३०, पेसागत असुरक्षाका १८ र कब्जा तथा अवरोधका २६ घटना भएका छन्। यसबाहेक नीतिगत बन्देजका तीन, पत्रकार पक्राउका दुई र एक पत्रकारको शङ्कास्पद मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ। महासङ्घकी अध्यक्ष निर्मला शर्मा ले प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना बढ्नुका साथै कानुनी र नीतिगत सुधारमा चुनौती देखिएको बताउनुभयो।
उहाँका अनुसार पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता, सञ्चार माध्यमको कमजोर आर्थिक अवस्था र पत्रकारको भौतिक तथा पेसागत सुरक्षामा जोखिम बढ्नु प्रमुख समस्या हुन्। साथै, सञ्चार क्षेत्रको आर्थिक सङ्कट, पत्रकार पलायन, निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन तथा सूचनामा लगाइएको रोक र सामाजिक सञ्जालमा बढ्दो मिथ्या सूचनाले चुनौती थपिएको उहाँको भनाइ छ।
त्यस्तै, महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाल ले राजनीतिक अस्थिरता र आन्दोलनका कारण पनि प्रेस स्वतन्त्रता हननका घटना बढेको उल्लेख गर्नुभयो। उहाँले प्रदेश र स्थानीय तहमा भ्रष्टाचार तथा सामाजिक विषयमा समाचार लेख्दा पत्रकारहरू धम्कीमा पर्ने गरेको र सामाजिक सञ्जालमार्फत प्रेसप्रति असहिष्णुता बढ्दो अवस्थामा रहेको बताउनुभयो।
गत भदौमा भएको जेनजी आन्दोलन का क्रममा मात्रै प्रेस स्वतन्त्रता हननका २६ घटना भएका थिए, जसबाट एक सयभन्दा बढी पत्रकार तथा सञ्चारगृह प्रभावित भएका थिए। भदौ २३ र २४ गते भएका घटनामा सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड हुँदा संस्थागततर्फ करिब ६० करोड रुपैयाँ र पत्रकार तथा सञ्चार उद्यमीको निजी सम्पत्तितर्फ करिब १८ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। साथै पाँच जना पत्रकार गोली लागेर घाइते भएका थिए।

