ह्वाइटहाउस कार्यक्रममा गोलीजस्तो आवाज, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं, १३ वैशाख – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी एक कार्यक्रममा गोली चलेको जस्तो आवाज सुनिएपछि सुरक्षा सतर्कता बढाइएको छ । ह्वाइट हाउसमा आयोजित पत्रकारहरूका लागि डिनर कार्यक्रममा उक्त घटना भएको हो । घटनापछि राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई तत्काल सुरक्षित स्थानमा सारिएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गोली चलेको सूचना आए पनि हालसम्म घाइतेबारे कुनै विवरण सार्वजनिक भएको छैन । एक संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ, तर उसको पहिचान खुलाइएको छैन । कार्यक्रमका क्रममा राष्ट्रपति ट्रम्प मन्तव्य दिइरहेका बेला अचानक हलचल सुरु भएको थियो ।

त्यसलगत्तै केही पड्किएको आवाज सुनिएपछि युनाइटेड स्टेट्स सिक्रेट सर्भिसका सुरक्षाकर्मीहरूले “तल बस्नुहोस्” भन्दै ट्रम्पलाई मञ्चबाट बाहिर लगेका थिए । यस क्रममा उनका शीर्ष सल्लाहकार स्टिफन मिलरलाई समेत सुरक्षाकर्मीहरूले भीडबाट सुरक्षित रूपमा बाहिर निकालेका थिए । कार्यक्रममा सहभागीहरू केही समयका लागि भुइँमा निहुरिएर बसेका थिए ।

सुरक्षाका लागि तैनाथ काउन्टर असल्ट टिम (सीएटी)का सशस्त्र सदस्यहरू मञ्चमा उभिएर कोठाको पछाडितर्फ सतर्क अवस्थामा रहेका थिए । केही समयपछि सुरक्षाकर्मीहरूले अर्को एक अतिथिलाई पनि हतार–हतार बाहिर लगेका थिए । घटनापछि स्थिति नियन्त्रणमा आएपछि कार्यक्रम पुनः सञ्चालन गरिएको जनाइएको छ ।

Facebook Comments Box