आधा सिलिन्डर नीतिले ग्यास उद्योगमा समस्या, खपत घट्दा बुलेटमै थन्कियो ग्यास
काठमाडौँ, ५ वैशाख गते – सरकारले आधा तौल (७.१ केजी) को ग्यास सिलिन्डर बिक्री गर्ने निर्णय गरेपछि ग्यास उद्योगमा नयाँ समस्या देखिएको छ। बिजुलीमा खाना पकाउने प्रवृत्ति बढेसँगै ग्यासको खपत घट्दा उद्योगहरूमा सिलिन्डर थन्किन थालेका छन् भने ग्यास ‘बुलेट’मै मौज्दात राख्नुपर्ने अवस्था आएको व्यवसायीले बताएका छन्।
नेपाल आयल निगम का अनुसार सामान्य अवस्थामा मासिक ४५–४८ हजार मेट्रिक टन ग्यासको माग हुने गरेकामा पछिल्लो १५ दिनमा १८ हजार मेट्रिक टन मात्रै आयात भएको छ। ग्यास अभाव भएपछि आपूर्ति सहज बनाउन निगमले फागुन २८ देखि आधा तौलको सिलिन्डर वितरण गर्न निर्देशन दिएको थियो।
तर नेपाल एलपी ग्यास उद्योग सङ्घ ले यस व्यवस्थाले खाली सिलिन्डर अभाव भएको र ढुवानी लागत बढेको भन्दै पूर्ण तौल (१४.२ केजी) को सिलिन्डरमै फर्किन आग्रह गरेको छ। सङ्घका अध्यक्ष दिवान चन्द का अनुसार अहिले ग्यासको खपत करिब ५० प्रतिशतले घटेको छ। खाली सिलिन्डर अभावका कारण रिफिल गर्न नसक्दा ग्यास बुलेटमै ‘होल्ड’ गर्नुपरेको उनले बताए।
उनका अनुसार पूर्ण सिलिन्डर बोक्दा जति ढुवानी खर्च लाग्छ, आधा सिलिन्डरमा पनि उति नै लागत लाग्दा व्यवसायीमाथि आर्थिक भार बढेको छ। हाल कम्पनीहरूमा १२–१३ हजार मेट्रिक टन ग्यास मौज्दात छ भने करिब ३५० बुलेटमा समेत ग्यास भरिएको अवस्थामा रहेको छ।
निगमका प्रवक्ता मनोज ठाकुर ले ग्यासको खपत घटेकाले आयात पनि घटेको स्पष्ट पारे। अन्तर्राष्ट्रिय परिस्थिति, विशेषगरी पश्चिम एसियाको अवस्थालाई ध्यानमा राख्नुपर्ने भएकाले तत्काल नीतिमा परिवर्तन गर्न कठिन रहेको उनले बताए।यता ग्यास विक्रेता महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्याल ले आधा सिलिन्डरका कारण उपभोक्तासँग ग्यास थुप्रिने र आपूर्ति चक्र असन्तुलित हुने समस्या देखिएको भन्दै पुनः १४.२ केजी सिलिन्डर वितरण गर्नुपर्ने बताएका छन्।
निगमका अनुसार हाल बजारमा करिब १ करोड ४२ लाख ग्यास सिलिन्डर प्रयोगमा छन्। आधा तौलको सिलिन्डरको मूल्य १,००५ रुपैयाँ र पूर्ण सिलिन्डरको मूल्य २,०१० रुपैयाँ कायम रहेको छ।

