पूर्वाधारको अभावमा ओझेलमा सोवाङधुरी

म्याग्दी, २८ चैत – म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा अवस्थित सोवाङधुरी पर्याप्त पर्यटकीय सम्भावना हुँदाहुँदै पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । समुद्री सतहदेखि तीन हजार ९४० मिटर उचाइमा रहेको सोवाङधुरी जोड्ने व्यवस्थित पदमार्ग नहुँदा पर्यटक भित्र्याउन कठिन भएको स्थानीयले बताएका छन् ।

चिमखोलाकी तारा गर्बुजा पुनका अनुसार दुई वर्षअघि पहिचान गरिएको पदमार्गमा आधारभूत संरचना निर्माण हुन नसक्दा यसको सम्भावना उपयोग हुन सकेको छैन । म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्ग मा पर्ने सोवाङधुरीबाट धवलागिरी हिमाल सहित गुर्जा, अन्नपूर्ण, निलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

यस क्षेत्रबाट बाग्लुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, मुल्डे, खोपारा लगायतका स्थान पनि देख्न सकिन्छ । हाल बसन्तयाममा जङ्गलमा लालीगुराँस फुलेर थप आकर्षक बनेको छ भने घोरल, मृगजस्ता वन्यजन्तु र जडीबुटीसमेत पाइन्छन् । पर्यटन प्रवर्द्धनका लागि हालै चिमखोला समाज बेलायतको अगुवाइमा २७ जनाको टोलीले पदयात्रा गरी सोवाङधुरीको अवलोकन गरेको छ ।

यससँगै क्षेत्रको प्रचारका लागि ‘म्युजिक भिडियो’ समेत छायाङ्कन गरिएको छ । स्थानीय युवाहरूले आश्रयस्थल निर्माण, पानी संकलनका लागि ड्रम जडान तथा दृश्यावलोकन केन्द्र स्थापना जस्ता प्रयास गरेका छन् । रघुगङ्गा गाउँपालिकाले सार्वजनिक शौचालय निर्माण गरिसकेको छ ।

हाल होटल तथा रेस्टुरेन्टको सुविधा नभएकाले पर्यटकले आवश्यक सामग्री आफैं बोकेर जानुपर्ने अवस्था छ । चिमखोलाबाट एक दिनमा वा बिस्तारै हिँडेर दुई दिनमा सोवाङधुरी पुग्न सकिन्छ । स्थानीयवासीले सरकारी निकायको सहयोग पाए सोवाङधुरीलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन् ।

Facebook Comments Box