आज जनआन्दोलन दिवस
काठमाडौं, २६ चैत । नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको ऐतिहासिक दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ साल चैत २६ गते ३० वर्ष लामो पञ्चायती शासन व्यवस्थाको अन्त्य भई बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएको थियो । सोही ऐतिहासिक उपलब्धिको सम्मानमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
विसं २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र वीर विक्रम शाह देव ले सुरु गरेको पञ्चायती व्यवस्था जनआन्दोलनपछि अन्त्य भएको थियो । नेपाली कांग्रेसको नेतृत्व तथा वाममोर्चासहितको संयुक्त आन्दोलनले ३० वर्षे निरंकुश शासनलाई अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेको थियो ।
कांग्रेस नेता गणेशमान सिंह को नेतृत्वमा करिब ५० दिनसम्म चलेको उक्त जनआन्दोलन विसं २०४६ फागुन ७ गतेदेखि सुरु भएको थियो । आन्दोलन उत्कर्षमा पुगेपछि तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाह देव ले राष्ट्रका नाममा सम्बोधन गर्दै चैत २६ गते बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको पुनःस्थापना घोषणा गरेका थिए । सोही दिनलाई नेपालको प्रजातान्त्रिक इतिहासमा महत्वपूर्ण मोडका रूपमा लिइन्छ ।

