सट्टेबाजी एप वा प्लेटफर्म प्रयोग नगर्न प्रहरीको पुनः आग्रह

काठमाडौँ, २० चैत – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ले प्रतिबन्धित अनलाइन सट्टेबाजी एप तथा प्लेटफर्म सञ्चालन र प्रयोग नगर्न सर्वसाधारणलाई पुनः सचेत गराएको छ। ब्यूरोले यसअघि नै सरकारले यस्ता अनलाइन सट्टेबाजी प्लेटफर्महरू बन्द गरिसकेको उल्लेख गर्दै गैरकानुनी गतिविधिमा संलग्न नहुन र नगराउन सबैमा आग्रह गरेको हो।

ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठ का अनुसार यदि यस्तो कार्यमा संलग्न भएको पाइएमा प्रयोग गरिएका उपकरणसमेत जफत गरिनेछ। प्रहरीले मुलुकी अपराधसंहिता, २०७४ बमोजिम यस्तो गतिविधि फौजदारी कसुरअन्तर्गत पर्ने स्पष्ट पार्दै दोषीलाई कैद, जरिवाना वा दुवै सजाय हुन सक्ने जनाएको छ।

साथै, सट्टेबाजीबाट आर्जित रकम र प्रयोग गरिएका उपकरण पनि जफत गरिनेछ। ब्यूरोले बन्द गरिएका कुनै पनि सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न र यस्ता गतिविधि भएको जानकारी पाएमा सम्बन्धित निकायलाई सूचित गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।

Facebook Comments Box