गृहमन्त्री सुधन गुरुङ द्वारा तीन अध्यादेश पेस

काठमाडौँ, १९ चैत – प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङ ले तीन वटा अध्यादेश पेस गर्नुभएको छ।

सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सांसदहरूले मन्तव्य राखिसकेपछि नियमित कार्यसूचीअन्तर्गत उहाँले ‘नागरिकता सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश, २०८२’ पेस गर्नुभएको हो।

संविधानको धारा ८४ (२) बमोजिम समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न जनसङ्ख्याआधारित आरक्षणसम्बन्धी व्यवस्था समावेश गर्न अध्यादेशमार्फत कानुन संशोधन गरिएको बताइएको छ।

प्रतिनिधिसभा निर्वाचनको मिति तय भएपछि मतदाता नामावली अध्यावधिक गर्न अघिल्लो सरकारले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश’ ल्याएको थियो।

त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतबाट गृह मन्त्रालयअन्तर्गत ल्याउन ‘नेपाल विशेष सेवा (तेस्रो संशोधन) अध्यादेश’ जारी गरिएको गृहमन्त्री गुरुङले जानकारी दिनुभयो।

बैठकमा संविधानसभा तथा राष्ट्रियसभाका सदस्यहरू ऋषिकेश गौतम, मोहम्मद अफ्ताव आलम, कृष्णकुमारी श्रेष्ठ, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहालबलदेव बोहरा को विभिन्न समयमा भएको निधनप्रति शोक प्रस्ताव पारित गरिएको छ। प्रतिनिधिसभाको अर्को बैठक यही चैत २२ गते आइतबार बिहान ११ बजे बस्नेछ।

Facebook Comments Box