हवाई इन्धनको मूल्य झन्डै दोब्बर वृद्धि

काठमाडौँ, १७ चैत – नेपाल आयल निगम ले हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढाएको छ। मंगलबार गरिएको मूल्य समायोजनअनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानतर्फ इन्धन महँगिएको हो। निगमद्वारा सार्वजनिक विज्ञप्तिअनुसार आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य साविक प्रतिलिटर १२७ रुपैयाँबाट बढाएर २५१ रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँमा हवाई इन्धनको मूल्य प्रति किलोलिटर ९६६ अमेरिकी डलरबाट बढाएर एक हजार ७८५ डलर पुर्‍याइएको छ। पोखरामा प्रतिकिलोलिटर ८०१ डलरबाट बढेर एक हजार ७३२ डलर पुगेको छ भने भैरहवामा ७८९ डलरबाट बढाएर एक हजार ७१६ डलर कायम गरिएको छ। नयाँ मूल्य समायोजनपछि हवाई सेवा प्रदायक कम्पनीहरूको लागत बढ्ने र त्यसको असर भाडादरमा समेत पर्न सक्ने अनुमान गरिएको छ।

Facebook Comments Box