नतिजामुखी बजेट निर्माणमा जोड : मुख्यमन्त्री कार्की

मोरङ, १७ चैत – हिक्मतकुमार कार्की ले आगामी आर्थिक वर्षदेखि नतिजामुखी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कोशी प्रदेश योजना आयोग द्वारा विराटनगरमा आयोजित बैंक सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रदेशसभा सदस्यलाई योजना छनोट तथा योजना बैंकमा ‘इन्ट्री’ गर्ने विषयमा प्राविधिक र सैद्धान्तिक जानकारी दिइएको थियो ।

कार्यक्रममा आयोगका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले विगतका असन्तुलित अभ्यासको समीक्षा गर्दै सबै क्षेत्रमा प्रत्यक्ष नतिजा दिने बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले योजना बैंकलाई व्यवस्थित रूपमा सञ्चालन गरी त्यसमा सूचीकृत योजनालाई आगामी बजेटमा प्राथमिकता दिइने बताउनुभयो ।

प्रदेश संरचनाबाट देखिनेगरी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले यसअघि भएका कमजोरी नदोहोरिने गरी जिल्ला तहबाटै बजेट प्रविष्ट गर्ने प्रणाली विकास गरिएको जानकारी दिनुभयो । मन्त्री तथा सचिवको बारम्बार हुने फेरबदलले विकासको गति प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रदेश सरकारले विभिन्न विश्वविद्यालय तथा क्याम्पससँग अनुसन्धान, सम्भाव्यता अध्ययन र सेवा प्रवाह सुधारका लागि सहकार्यसम्बन्धी सम्झौता गरेको छ । सोही क्रममा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय प्रविधि क्याम्पस धरानसँग घरेलु मदिराको उत्पादन, गुणस्तर परीक्षण, बजारीकरण र ब्रान्डिङसम्बन्धी अध्ययनका लागि सम्झौता गरिएको छ ।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय, मनमोहन प्राविधिक विश्वविद्यालय लगायत संस्थासँग पनि विभिन्न विषयमा सहकार्य अघि बढाइएको जनाइएको छ । तारानाथ निरौला ले आयोजना बैंकको प्रभावकारी कार्यान्वयनले प्रदेशको विकास र समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो भने प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेल ले योजना बैंकलाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभाका सभामुख, मन्त्रीहरू, योजना आयोगका पदाधिकारी, सचिवहरू, शैक्षिक संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।

Facebook Comments Box