१२ वर्षपछि दोदा नदीमा पुल निर्माण सम्पन्न, स्थानीयलाई राहत
दोधारा चाँदनी, १३ चैत – कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीमा पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सम्पन्न भएको छ। पुल निर्माणका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी, कैलालीसँग ठेक्का सम्झौता गरिएको थियो। सम्झौताअनुसार २०७५ पुस २६ भित्र काम सम्पन्न हुनुपर्ने भए पनि विभिन्न कारणले ढिलाइ हुँदै १२ वर्षपछि मात्रै निर्माण सम्पन्न भएको हो।
डिभिजन सडक कार्यालय महेन्द्रनगरका अनुसार प्रारम्भमा तीनवटा पिलरसम्म निर्माण भए पनि फाउन्डेसनमा समस्या देखिएपछि डिजाइन परिवर्तन गर्नुपरेको थियो, जसका कारण निर्माणमा ढिलाइ भएको हो।कार्यालयका इन्जिनियर हरिसप्रसाद जोशीका अनुसार पुल निर्माणका लागि तीनपटकसम्म म्याद थप गरिएको थियो। अहिले पुल सञ्चालनमा आइसकेको छ।
पुल नहुँदा स्थानीयवासीले वर्षौँदेखि नदी पार गर्दा जोखिमपूर्ण अवस्था झेल्दै आएका थिए। वर्षायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता थियो। पुल सञ्चालनमा आएपछि आवतजावत सहज भएको भन्दै स्थानीयले राहत महसुस गरेका छन्।
स्थानीयका अनुसार नदीपारि बसोबास गर्ने र वारिपारि खेती गर्नेहरूका लागि पुल अत्यन्तै आवश्यक थियो। पुल बनेपछि कृषि कार्य, दैनिक आवतजावत तथा समग्र जनजीवनमा सहजता आएको छ। उक्त पुल निर्माणका लागि करिब रु २४ करोड २२ लाख ५७ हजार लागतमा ठेक्का सम्झौता गरिएको थियो।

