चैत्र शुक्ल नवमीमा रामनवमी पर्व श्रद्धापूर्वक मनाइँदै
काठमाडौँ, १३ चैत – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा–आराधना गरी मनाइँदैछ। त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्याका सुपुत्रका रूपमा भगवान् रामचन्द्रको जन्म यही दिन भएको धार्मिक विश्वास छ। विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म पुनर्वसु नक्षत्र र कर्कट लग्नको योगमा भएको शास्त्रीय उल्लेख पाइन्छ।
वासन्तीय नवरात्रको नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गर्दै आदर्श शासन ‘रामराज्य’ स्थापना गर्नुभएको मानिन्छ। धर्मशास्त्रविद्हरूका अनुसार रामनवमी मनाउनुको मुख्य उद्देश्य मर्यादित, अनुशासित र उत्तरदायी नेतृत्वको आदर्शलाई आत्मसात गर्नु हो।
शास्त्रीय मान्यताअनुसार अष्टमीका दिन अष्टमातृकाको पूजा गरी नवमीमा रामचन्द्रको पूजा, जप, पाठ र ध्यान गरेमा मनोकामना पूरा हुने विश्वास छ। ‘व्रतार्क’ लगायतका ग्रन्थमा व्रत–उपवाससहित पूजा गरे अनेक जन्मका पाप नाश भई शुभफल प्राप्त हुने उल्लेख गरिएको छ।
यस अवसरमा नेपालका विभिन्न राम मन्दिरहरूमा विशेष पूजा–अर्चना भइरहेको छ भने रामजानकी मन्दिरमा मेला लागेको छ, जहाँ नेपाल र भारतबाट भक्तजनको ठूलो भीड लागेको छ। रामनवमीलाई असत्यमाथि सत्यको विजय तथा धर्म स्थापनाको प्रतीक पर्वका रूपमा लिइन्छ। यस दिन व्रत बसी पवित्र नदी, ताल तथा कुण्डमा स्नान गर्ने, रामायण वाचन गर्ने र भजन–कीर्तन गर्ने परम्परा रहिआएको छ।

