अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापनका लागि दुई करोड अनुदान
काठमाडौँ, ६ चैत – काठमाडौँ महानगरपालिका ले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल मा अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ। यसका लागि आज महानगरपालिका र अस्पतालबीच सहकार्य सम्झौता भएको हो। सम्झौतामा कामपाका स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीबीच हस्ताक्षर भएको छ।
सम्झौताअनुसार अस्पतालबाट निस्कने हानिकारक फोहरसँगै महानगरले सञ्चालन गरेका स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट उत्पन्न फोहरसमेत यही प्लान्टमार्फत व्यवस्थापन गरिनेछ। प्रदान गरिएको अनुदान रकम उपकरण खरिद तथा फोहर व्यवस्थापन स्थलमा ट्रस निर्माणका लागि प्रयोग गरिने जनाइएको छ। सम्झौता चालु आर्थिक वर्षको असार १५ गतेसम्म मान्य रहनेछ।
सम्झौतापछि कार्यवाहक प्रमुख सुनिता डङ्गोलले काठमाडौँमा हानिकारक फोहर व्यवस्थापनका लागि उपयुक्त स्थान अभाव रहेको उल्लेख गर्दै उपलब्ध स्थानमै मापदण्डअनुसार प्रशोधन प्लान्ट सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले यस सहकार्यबाट अस्पताल र महानगरपालिका दुवैलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।

