बाख्रापालनमै निर्भर धारापानी बस्तीका बासिन्दा
कञ्चनपुर, ५ चैत – शुक्लाफाँटा नगरपालिका–८ अन्तर्गत चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको जीविका परम्परागत बाख्रापालनमै निर्भर रहेको छ। बस्तीका नौ परिवारले बाख्रापालनलाई मुख्य पेसा बनाएका छन्। कृषियोग्य जमिन कम हुनु, बलौटे माटो र वैकल्पिक आम्दानीको अभावका कारण यहाँका बासिन्दा यसैमा आश्रित भएका हुन्।
स्थानीय कृषक साइमले धामी ले ४० वटा बाख्रा पाल्दै आउनुभएको छ। उहाँका अनुसार वर्षमा ६ देखि १० वटासम्म खसी बिक्री गरेर घरखर्च चलाउने गरिएको छ। “खसी बेचेर आएको पैसाले नुन, तेल, लत्ताकपडा र अन्नपानीको जोहो मिलाउने गर्छौं,” उहाँले भन्नुभयो।
यहाँ जिउँदो खसी प्रतिकिलो करिब रु ५०० मा बिक्री हुने गरेको छ। तर, बलौटे माटो र बाँदरको समस्या कारण अन्नबाली उत्पादन कमजोर हुने भएकाले बाख्रापालन नै भरपर्दो आम्दानीको स्रोत बनेको छ। स्थानीय बालाराम गौतम ले २४ वटा बाख्रा पाल्दै आउनुभएको छ। उहाँका अनुसार बाख्रा बिरामी हुँदा उपचार नपाउने, उन्नत जातको अभाव र आधुनिक प्रविधिको कमीले व्यवसाय विस्तारमा समस्या भएको छ।
“हामीसँग खरी जातका बाख्रा छन्, तौल कम हुने भएकाले मूल्य पनि कम पाइन्छ,” उहाँले भन्नुभयो। धारापानीका अन्य किसानहरू—सुरेन्द्र महरा (४० बाख्रा), मूल्याल साहु (३५ बाख्रा) र मोहन महरा (१७ बाख्रा)—पनि यही पेशामा निर्भर छन्।
पछिल्लो समय चितुवा को आक्रमणले किसानहरू थप समस्यामा परेका छन्। वन क्षेत्रमा चराउन लगिएका बाख्रामध्ये दिनहुँ २–४ वटासम्म चितुवाले मार्ने गरेको किसानहरूको गुनासो छ। स्थानीय बासिन्दाले पशु स्वास्थ्य सेवा विस्तार, तालिम, उन्नत जातका बाख्रा, बिमा सुविधा तथा वन्यजन्तु नियन्त्रणका उपाय तत्काल लागू गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

