सडक आश्रित मानवमुक्त घोषणा गर्ने तयारीमा कामपा

काठमाडौँ, ४ चैत – काठमाडौँ महानगरपालिका ले सडक आश्रित मानवमुक्त महानगर घोषणा गर्ने तयारी गरेको छ। महानगरले पछिल्लो करिब आठ वर्षमा मानव सेवा आश्रम सँगको सहकार्यमा २ हजार ९१९ जना सडक आश्रितको उद्धार गरेको जनाएको छ।

विसं २०७४ मङ्सिर १ गतेदेखि सुरु भएको यस अभियानअन्तर्गत उद्धार गरिएकामध्ये ३१५ जनाको मृत्यु भएको छ भने ७१३ जनालाई पारिवारिक र ३३६ जनालाई सामुदायिक पुनर्मिलन गराइएको छ। हाल २६८ जना आश्रमको संरक्षणमा रहेका छन्।

कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल का अनुसार महानगरले घोषणा मात्र नभई त्यसलाई दिगो बनाउने गरी कानुनी, प्रशासनिक र व्यावहारिक पक्षलाई सुदृढ बनाउने तयारी गरिरहेको छ।

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी ले सडकबाट सहयोगापेक्षी व्यक्तिहरूको उद्धार कार्य अझै निरन्तर भइरहेको जानकारी दिनुभयो। महानगरले आश्रमलाई हालसम्म रु २ करोड ८४ लाखभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराइसकेको छ भने उद्धारका लागि सवारीसाधन समेत प्रदान गरिएको छ।

आश्रमका अध्यक्ष रामजी अधिकारी का अनुसार सडक आश्रितको पहिचान, सिफारिस र व्यवस्थापनमा जनप्रतिनिधि, प्रशासनिक कर्मचारी र महानगर प्रहरीको सक्रिय समन्वय रहेको छ।

यस अभियानलाई दिगो बनाउन नीतिगत तथा संस्थागत व्यवस्था, वैज्ञानिक अभिलेखन प्रणाली, स्वास्थ्य तथा मानसिक परामर्श सेवा र दीर्घकालीन आर्थिक योजना आवश्यक पर्ने बताइएको छ।

Facebook Comments Box