समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौँ, ३ चैत – निर्वाचन आयोग नेपाल ले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ। समानुपातिकतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउत का अनुसार सो दिन बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित प्रमाणपत्र प्रदान गरिनेछ।

आयोगले राजनीतिक दलबाट छनोट भई पेस गरिएका उम्मेदवारहरूको विवरण सार्वजनिक गर्दै उनीहरूलाई निर्वाचित घोषणा गरिसकेको छ। प्रमाणपत्र लिनका लागि उम्मेदवारले सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र तथा दुई प्रति पासपोर्ट साइज फोटो उपलब्ध गराउनुपर्ने आयोगले जनाएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा विभिन्न छ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन्। समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी ले ५७, नेपाली कांग्रेस ले २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १६, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नौ, श्रम संस्कृति पार्टी ले चार र राष्ट्रिय प्रजातन्त्र पार्टी ले चार सिट प्राप्त गरेका छन्।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ। आयोगले समानुपातिकतर्फका उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेसँगै यसपटकको निर्वाचन प्रक्रिया पूर्ण रूपमा सम्पन्न हुने जनाएको छ।

Facebook Comments Box