सुर्खेतमा फागुनमा ७६ सवारीसाधन दुर्घटना, चारको मृत्यु
कर्णाली, ३ चैत – सुर्खेत मा गत फागुन महिनामा ७६ वटा सवारी दुर्घटना हुँदा एक महिलासहित चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत ले जनाएको छ। कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सवारी दुर्घटनाको मुख्य कारण मानवीय त्रुटि रहेको छ। करिब ८० प्रतिशत दुर्घटना मानवीय त्रुटिका कारण र बाँकी यान्त्रिक खराबीका कारण हुने गरेको कार्यालय प्रमुख रोहीतकुमारी शाही ले जानकारी दिनुभयो।
उहाँका अनुसार सबैभन्दा बढी मोटरसाइकल ४८, टेम्पो १०, मिनिबस सात, बस पाँच, जीप/कार चार र ट्र्याक्टर दुई वटा दुर्घटनामा परेका छन्। तीमध्ये ३४ वटा दुर्घटना तीव्र गतिका कारण भएका हुन्। त्यस्तै, मादक पदार्थ सेवनबाट तीन, चालकको असक्षमताबाट तीन, चढ्दा/ओर्लँदा एक र ब्रेक फेल भएर आठ दुर्घटना भएको जनाइएको छ।
फागुन महिनामा ट्राफिक तथा जनपद प्रहरीले संयुक्त रूपमा ६४० सवारी जाँच गर्दा ४०२ जनालाई कारबाही गरिएको छ। यसबाट रु तीन लाख ९१ हजार ५०० राजस्व सङ्कलन भएको छ। ट्राफिक प्रहरीले मात्र गरेको जाँचमा २३५ जनामाथि कारबाही हुँदा रु एक लाख ९२ हजार ५०० राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ।
त्यसैगरी, ‘चालकसँग एक मिनेट’ कार्यक्रमबाट ६ हजार ६६३, पैदल यात्रु लक्षित कार्यक्रमबाट ५१६, सङ्घसंस्था लक्षित सचेतना कार्यक्रमबाट १ हजार ७५४ र चालक सचेतना कार्यक्रमबाट १२८ गरी कुल १८ हजार ५४३ जना लाभान्वित भएका छन्। ट्राफिक नियम पालनासम्बन्धी सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ।

