सिरहामा ग्यास अभावको बहानामा कालोबजारीको गुनासो

सिरहा, २६ फागुन – जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेको भन्दै उपभोक्ताबाट गुनासो बढ्न थालेको छ । उपभोक्ताले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको बताएका छन् ।

लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतका अनुसार ग्यास अभावको अवसर छोपेर केही पसलेहरूले अत्यधिक मूल्य असुल्न थालेका छन् । “दुईवटा सिलिन्डर लिन जाँदा प्रतिसिलिन्डर चार हजार ५०० रुपैयाँ मागियो,” उहाँले भन्नुभयो, “निर्धारित मूल्यमा दुईवटा सिलिन्डरको तीन हजार ८२० रुपैयाँ मात्र पर्छ, तर नौ हजार रुपैयाँ मागेपछि रित्तै फर्किनुपर्‍यो ।”

सिरहा नगरपालिका–६ मा चियानास्ता पसल सञ्चालन गर्दै आएका प्रमोद यादवले पनि तोकिएको मूल्यमा ग्यास नपाउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको बताउनुभयो । “सिलिन्डर किन्दा चार हजार ५०० रुपैयाँ तिर्नुपर्छ,” उहाँले भन्नुभयो, “त्यति महँगोमा किनेर कसरी खर्च धान्नु ? अब त खाना पकाउनै मुस्किल पर्ने हो कि भन्ने चिन्ता छ ।”

हाल खाना पकाउने ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर एक हजार ९१० रुपैयाँ रहेको छ । तर बजारमा भने यसको दोब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको उपभोक्ताहरूको गुनासो छ । उपभोक्ता अधिकारकर्मीहरूले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको हुनसक्ने भन्दै सम्बन्धित निकायलाई तत्काल बजार अनुगमन गर्न आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय सिरहाले कालोबजारी गर्नेविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार वाणिज्य कार्यालय तथा सम्बन्धित निकायसँग समन्वय गरेर बजार अनुगमन गरिनेछ । “कालोबजारी गरेको पाइए कानुनअनुसार कारबाही हुन्छ,” उहाँले भन्नुभयो ।

यता नेपाल आयल निगमका स्थानीय वितरकहरूले भने ढुवानी तथा आपूर्ति व्यवस्थापनमा समस्या आउनुका साथै निर्वाचनका कारण तीन दिन सीमाना बन्द हुनु र उपभोक्ताले ग्यास भण्डारण गरेर राख्नुजस्ता कारणले बजारमा अभाव देखिएको बताएका छन्

Facebook Comments Box