मध्यपूर्वमा मिसाइल वर्षा : निद्रा नलागेको ओलीको भनाइ

काठमाडौँ, १७ फागुन – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वका देशहरूमा भइरहेको मिसाइल आक्रमणले आफूलाई चिन्तित बनाएको बताएका छन्। ती देशहरूमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै उनले आफूलाई निद्रा नलागेको उल्लेख गरेका हुन्।

अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि इरानले प्रत्याक्रमणस्वरूप अमेरिकी सैन्य अड्डालाई लक्षित गरी मिसाइल प्रहार गरेको थियो। त्यसपछि कतार, बहराइन, युएई, कुवेत र इजरायललगायत देशहरूमा त्रासको अवस्था सिर्जना भएको बताइएको छ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै मध्यपूर्वी आकाशबाट बर्सिएका मिसाइलको धुवाँले आफू बेचैन बनेको जनाएका छन्। ती देशहरूमा लाखौँ नेपाली अप्ठ्यारो परिस्थितिमा रहेको र उनका परिवार नेपालमा चिन्तित बनेको उल्लेख उनले गरेका छन्। उनले यस परिस्थितिमा सजगता र धैर्य आवश्यक रहेको उल्लेख गर्दै विवेक र साहसका साथ सामना गर्नुपर्ने बताएका छन्।

भूराजनीतिक स्वार्थका कारण मुलुकहरू युद्धतर्फ धकेलिनुपर्ने अवस्था आएको उनको टिप्पणी छ। नेपालमा यस्ता परिस्थिति नआएकोमा सौभाग्य ठान्दै उनले भविष्यमा पनि कुनै आवरणमा यस्तो अवस्था नआओस् भन्ने कामना व्यक्त गरेका छन्। साथै मध्यपूर्वका देशहरूमा रहेका नेपाली नागरिकलाई सुरक्षित र सजग रहन आग्रह गर्दै त्यहाँस्थित नेपाली दूतावास तथा नेपाल सरकारलाई नागरिक सुरक्षामा तत्काल सक्रिय हुन अनुरोध गरेका छन्।

Facebook Comments Box