निषेधित गतिविधि भए कडा कारबाही गर्न आयोगको आग्रह
काठमाडौँ, १४ फागुन – निर्वाचन आयोग ले निर्वाचन अवधिमा निषेध गरिएका कार्य हुन नदिन र उल्लङ्घन भए प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन गृह मन्त्रालयसँग अनुरोध गरेको छ। आयोगद्वारा जारी विज्ञप्तिमा फागुन १८ गते राति १२ः०० बजेदेखि लागू हुने निर्वाचन प्रचार–प्रसार निषेध अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिनुपर्ने उल्लेख छ।
साथै जिल्ला आचारसंहिता अनुगमन समितिमार्फत तोकिएका संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम कारबाही गर्न आग्रह गरिएको छ।आयोगले मतदानको मितिभन्दा सात दिनअघि देखि अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउन पनि आग्रह गरेको छ।
मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन, कूटनीतिक नियोगका सवारीसाधन तथा पास प्राप्त सवारीबाहेक अन्य सार्वजनिक तथा निजी सवारी सञ्चालनमा रोक लगाउनुपर्ने जनाएको छ। उक्त रोक फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नभएसम्म कायम रहने उल्लेख गरिएको छ।
यस्तै, अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान भने नियमित रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन आयोगले स्पष्ट पारेको छ। टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर वा होटलसम्म र पुनः विमानस्थलसम्म आवतजावत गर्न निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी प्रयोग गर्न दिने व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।
निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ अनुसार शान्तिसुरक्षा कायम गर्न आवश्यक सबै कार्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आयोगले सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ बमोजिम मतदाताले मतदानका लागि मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमति पत्रमध्ये कुनै एक कागजात साथमा लिएर जानुपर्ने व्यवस्था रहेको जानकारी गराइएको छ।
मतदानका दिन प्रयोग हुने सवारीसाधनका लागि आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी हुने पास वितरण गर्न आयोगको सचिवालय परिसरमा विशेष पास वितरण इकाइ स्थापना गरिने र त्यसका लागि आवश्यक कर्मचारी तोकिने पनि विज्ञप्तिमा उल्लेख छ।

