निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छ : कावा प्रमुख आयुक्त भण्डारी
काठमाडौँ, ७ फागुन – निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्र तथा निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह्वान गर्नुभएको छ। दशौँ निर्वाचन दिवसका अवसरमा जारी सन्देशमा उहाँले निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक र आममतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सहभागी गराउन सबै पक्षलाई अपिल गर्नुभयो।
उहाँले स्वच्छ, स्वतन्त्र, विश्वसनीय, पारदर्शी र मितव्ययी निर्वाचनमार्फत शान्ति, स्थिरता, समृद्धि र सुशासन सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विद्रोहपछि देखिएको अस्थिरतालाई सही मार्गमा ल्याउने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभएको छ।
नेपालमा पहिलो आमनिर्वाचन २०१५ फागुन ७ गते सुरु भई २०१६ वैशाख २१ गते सम्पन्न भएको स्मरण गर्दै प्रत्येक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाइँदै आएको छ। भदौ २३ र २४ गतेको घटनापछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान दिन आउन अब १४ दिन बाँकी रहेको उल्लेख गर्दै भण्डारीले यस पटकको निर्वाचन सबैका लागि विशेष अवसर भएको बताउनुभयो।
लोकतान्त्रिक शासन व्यवस्थालाई जीवन्त र उत्तरदायी बनाउन आवधिक निर्वाचनको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उहाँले जनताको मताधिकार नै वैध सरकारको आधार भएको धारणा व्यक्त गर्नुभयो। स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धाबाट जनप्रतिनिधि चयन हुने प्रक्रिया नै लोकतन्त्रको स्थायित्वको आधार भएको भन्दै उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

