निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन

काठमाडौं, २ फागुन – प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन विशेष निर्देशन दिनुभएको छ।

महाशिवरात्रि तथा २६२औँ सेना दिवसका अवसरमा सैनिक मुख्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाली सेनाका सकल दर्जालाई शुभकामना दिँदै सम्बोधन गर्ने क्रममा उहाँले सेनाले निर्वाह गर्दै आएका जिम्मेवारीलाई उत्कृष्ट रूपमा पूरा गर्नुपर्ने उल्लेख गर्नुभयो।

सो क्रममा निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक तयारी र समन्वय गर्न निर्देशन दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधानसेनापति सिग्देलले नेपालको गौरवमय इतिहास, परम्परा र संस्कृतिप्रति सैनिकलाई सचेत गराउँदै नेपाल र नेपालीको इतिहास सैनिक तालिममा अध्ययन तथा अध्यापन गराउन पनि निर्देशन दिनुभयो। उहाँले इतिहासका पाठबाट सिकेर राष्ट्रिय जिम्मेवारीलाई अझ प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

यसैबीच, उहाँले कर्तव्य पालनाका क्रममा जीवन उत्सर्ग गर्ने सैनिकहरूको सम्मानमा टुँडिखेलस्थित वीर स्मारक तथा सैनिक मञ्चमा श्रद्धासुमन अर्पण गर्नुभयो। साथै, छाउनीस्थित वीर स्मारकमा वीरगति प्राप्त सैनिकका परिवारलाई सम्मान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

Facebook Comments Box