देशभरका नौ जिल्ला वन डढेलोको उच्च जोखिममा

काठमाडौँ, १३ माघ – देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा रहेको पाइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको तथ्याङ्कका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत जिल्लालाई उच्च जोखिमको सूचीमा राखिएको हो।

त्यसैगरी, अछाम, अर्घाखाँची, बारा, डडेल्धुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्युठान, सिन्धुली र उदयपुर जिल्लालाई मध्यम जोखिममा वर्गीकरण गरिएको छ। प्राधिकरणले वन डढेलोको जोखिम न्यूनीकरणका लागि पूर्वानुमान, निगरानी तथा पूर्वचेतावनी प्रणालीलाई प्रभावकारी बनाउने, पूर्वतयारी र वन व्यवस्थापनका उपाय अवलम्बन गर्ने कार्ययोजना तय गरेको जनाएको छ।

सङ्घ, प्रदेश तथा स्थानीय तहका जिम्मेवार निकाय र सरोकारवालाबीच समन्वय गरी डढेलो नियन्त्रणका प्रयासलाई प्रभावकारी र परिणाममुखी बनाउने रणनीति अपनाइएको छ। वन डढेलो नियन्त्रणमार्फत जनधन तथा पर्यावरणीय स्रोतमा हुने क्षति न्यूनीकरण गर्नु कार्ययोजनाको मुख्य लक्ष्य रहेको प्राधिकरणले जनाएको छ।

यस्तै, जनचेतना अभिवृद्धि र नियमनलाई सुदृढ गर्दै वन डढेलोसम्बन्धी जोखिमबारे बुझाइ स्पष्ट पार्ने, वन क्षेत्र तथा वनजन्य इन्धन व्यवस्थापनमार्फत आगलागीको सम्भावना घटाउने रणनीति तय गरिएको छ। मौसम पूर्वानुमान र पूर्वसूचना प्रणालीलाई सबल बनाउँदै वन डढेलोजन्य विपद् प्रतिकार्यलाई प्रभावकारी बनाइने प्राधिकरणले जनाएको छ। प्रविधिको प्रयोग तथा मानव संसाधन परिचालनमार्फत जोखिमयुक्त क्षेत्रको निगरानी, पहिचान र पूर्वचेतावनीलाई प्रभावकारी बनाइनेछ।

यसैगरी, सरोकारवाला निकायबीच समन्वय र सञ्चार कायम गर्दै सचेतनामूलक अभियान, तालिम तथा कृत्रिम अभ्यासमार्फत पूर्वतयारी र डढेलो नियन्त्रण कार्य सुदृढ बनाइनेछ। वन डढेलोबाट प्रभावित समुदायको उद्धार, उपचार, राहत तथा पुनःस्थापनासम्बन्धी कार्यलाई प्रभावकारी बनाउने, अनुगमन र तथ्याङ्क व्यवस्थापन सुदृढ गरी अध्ययन तथा अनुसन्धानका लागि आधार तयार गर्ने रणनीति पनि प्राधिकरणले अघि सारेको छ।

Facebook Comments Box