‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण तीव्र
बागलुङ, १३ माघ – बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाएको छ। आगामी असार मसान्तसम्म रु दुई करोड ५० लाख बराबरका भौतिक संरचना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको छ।
यसअघि नगरपालिकाले जग्गा व्यवस्थापन, शौचालय र सत्तल निर्माणमा रु ७० लाख खर्च गरिसकेको छ। आँखै अगाडि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारको मनोरम दृश्यका कारण डोयको पहाडलाई ‘ब्लु हिल’ नामकरण गरी धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास थालिएको हो।
ब्लु हिललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले गत वर्षदेखि पूर्वाधार निर्माण सुरु गरिएको हो। रु २५ करोडको पूर्वाधार निर्माण गर्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी योजनाबद्ध रूपमा काम अघि बढाइएको छ।
बागलुङ–९ तित्याङका वडाध्यक्ष राजु थापाका अनुसार गत वर्ष पहिलो चरणमा रु ७० लाख र चालु आर्थिक वर्षमा दोस्रो चरणअन्तर्गत रु दुई करोड ५० लाखको काम भइरहेको छ। हाल ब्लु हिलमा २० फिट अग्लो शिवमूर्ति स्थापना गर्न आवश्यक दुईतले पक्की भवन निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो।
डोयको निलो पहाडलाई ब्लु हिलका रूपमा विकास गर्न नगरपालिकाले बजेट विनियोजन गर्दै लगानी बढाएको छ। चालु वर्ष शिवमूर्ति तथा पूर्वाधार निर्माणको काम निर्माण कम्पनी क्वालिस्ट रिन्युयबल इनर्जीले तीव्र रूपमा गरिरहेको छ। प्राकृतिक क्षेत्रमा धार्मिक पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याउने उद्देश्य नगरपालिकाको रहेको छ।
ब्लु हिललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न रु २४ करोड ५६ लाख २२ हजारको विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ। डिपिआरअनुसार वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, जिम हल, मन्दिर, पार्किङलगायतका पूर्वाधार निर्माण गरिनेछ। गत वर्ष जग्गा सम्याउने, पर्खाल लगाउने, सत्तल तथा शौचालय निर्माणको काम सम्पन्न भइसकेको छ।
बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले ब्लु हिललाई आन्तरिक तथा विदेशी पर्यटक आकर्षित गर्ने प्रमुख गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले ठूलो लगानी गरिरहेको बताउनुभयो। “डोय प्राकृतिक रूपमा सुन्दर र हरियाली छ। आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ। प्रकृति र धर्मलाई जोडेर पर्यटक भित्र्याउने उद्देश्यले पक्की संरचना निर्माणले गति लिएको छ,” उहाँले भन्नुभयो।
समुद्री सतहबाट करिब दुई हजार २०० मिटर उचाइमा रहेको ब्लु हिलमा पूर्वाधार निर्माण सुरु भएपछि यसको चर्चा बढ्दै गएको छ। विस्तृत परियोजना प्रतिवेदनअनुसार योजना पूर्ण रूपमा सम्पन्न हुन भने अझै समय लाग्ने जनाइएको छ।

