दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी, ८ माघ – बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले झण्डै एक दशकको प्रतीक्षापछि आमाको नामबाट नेपाली नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले मङ्गलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता प्रदान गरेको हो । नागरिकता प्राप्तिका लागि समिरले ११ वर्षअघि र यास्मिनले आठ वर्षअघि जिल्ला प्रशासन कार्यालयदेखि गृह मन्त्रालयसम्म सबै प्रक्रिया पूरा गरी आवेदन पेस गर्नुभएको थियो ।

नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन कार्यान्वयनमा आएपछि आमाको नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो । समिर र यास्मिनकी आमा मनिरजा बेगम नेपाली नागरिक हुनुहुन्छ भने उहाँका श्रीमान् सलिम खान भारतको कलकत्ता निवासी हुनुहुन्छ ।

३४ वर्षअघि विवाह भए पनि मनिरजाले बेनीमै शृङ्गार व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । सलिम खानले भारतीय नागरिकता त्यागिसक्नुभएको र विसं २०५२ तथा २०६४ मा नेपालमा सम्पन्न निर्वाचनमा मतदानसमेत गरिसकेको बताउनुभएको छ ।

समिर र यास्मिनको साबिक अर्थुङ्गे गाविसमा जन्मदर्ता रहेको छ । दुवैले उच्च शिक्षा हासिल गरे पनि नागरिकता नहुँदा पेसा, व्यवसाय, सरकारी तथा निजी जागिर र वैदेशिक रोजगारीमा जानबाट वञ्चित हुनुपरेको थियो । नागरिकता प्राप्त भएपछि बल्ल आफूहरू नेपाली नागरिक भएको अनुभूति भएको उनीहरूको प्रतिक्रिया छ ।

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन भएसँगै नागरिकता ऐन, २०६३ का व्यवस्था कार्यान्वयनमा आएका हुन् । यसअघि पुस २९ गते मालिका गाउँपालिका–५, देविस्थानकी २२ वर्षीया सीमा पुनलाई जिल्लामै पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरिएको थियो ।

Facebook Comments Box