सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रमा २१० जनाको उम्मेदवारी
महेन्द्रनगर, ७ माघ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा २१० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रवक्ता दिलीप भाटका अनुसार मङ्गलबार उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । कैलाली निर्वाचन क्षेत्र नं १ मा १९ जना, कैलाली–२ मा १६, कैलाली–३ मा ११, कैलाली–४ मा १६ र कैलाली–५ मा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा १९ जना, कञ्चनपुर–२ मा १९ र कञ्चनपुर–३ मा १७ जनाले मनोनयन दर्ता गराएका छन् । अछाम निर्वाचन क्षेत्र नं १ मा आठ र अछाम–२ मा नौ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन कार्यालयका अनुसार डोटीमा नौ, बाजुरामा आठ, बझाङमा सात, बैतडीमा १२, दार्चुलामा ११ तथा डडेल्धुरामा १३ जनाले मनोनयन दर्ता गराएका छन् ।
कूल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिम प्रदेशमा प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

