रौतहटका १५२ मतदानस्थल अतिसंवेदनशील सूचीमा

रौतहट, ४ माघ  – आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट जिल्लाका २७७ मतदानस्थलमध्ये १५२ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले सुरक्षाको दृष्टिकोणले जोखिम मूल्याङ्कन गर्दै ती मतदानस्थललाई अतिसंवेदनशील घोषणा गरेको हो ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार एक सय मतदानस्थल संवेदनशील सूचीमा परेका छन् भने बाँकी २५ मतदानस्थललाई सामान्य श्रेणीमा राखिएको छ । “विभिन्न स्थानीय तहमा रहेका मतदानस्थलको सुरक्षा अवस्था मूल्याङ्कन गरेर वर्गीकरण गरिएको हो,” प्रजिअ भुसालले बताउनुभयो ।

मतदानस्थलको विवरणअनुसार रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा ६७, क्षेत्र नं २ मा ७२, क्षेत्र नं ३ मा ७७ र क्षेत्र नं ४ मा ६१ मतदानस्थल रहेका छन् । जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार निर्वाचनका लागि जिल्लाभर ५४१ मतदान केन्द्र तोकिएका छन् ।

विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा २७६ मतदानस्थल रहेकामा यस वर्ष एउटा मतदानस्थल थप गरिएको हो । गरुडा नगरपालिका–६ मा नयाँ मतदानस्थल थपिएको उहाँले जानकारी दिनुभयो । यस वर्षको निर्वाचनमा रौतहटमा २१ हजार १५६ मतदाता थपिएका छन् ।

हाल जिल्लामा कुल चार लाख ३६ हजार ६११ मतदाता कायम रहेको निर्वाचन कार्यालयले जनाएको छ । विसं २०७९ को निर्वाचनमा जिल्लामा चार लाख १५ हजार ४५५ मतदाता रहेका थिए । दुई गाउँपालिका र १६ नगरपालिका रहेको रौतहट जिल्लामा चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् ।

Facebook Comments Box