चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल
बागलुङ, २ माघ – अत्यधिक चिसो बढे पनि ढोरपाटनमा पर्यटकको चहलपहल देखिन थालेको छ । बिहान धारामा पानी जम्ने र बाक्लो तुसारो पर्ने अवस्था रहे पनि यस वर्ष हिउँद याममा समेत पर्यटक पुग्न थालेका छन् । चिसो बढेसँगै अधिकांश स्थानीय बेंसी झरेका छन् भने अस्थायी बसोबास गर्ने र होटल व्यवसायी मात्रै ढोरपाटनमा रहेका छन् ।
विगतमा हिउँद याममा ढोरपाटन प्रायः सुनसान हुने गरेकामा यस वर्ष भने पर्यटकको आवागमन जारी रहेको छ । बाह्रै महिना प्राकृतिक सुन्दरतामा कमी नआउने भएकाले ढोरपाटन पर्यटकको रोजाइमा पर्न थालेको व्यवसायीहरूको भनाइ छ । ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैका अनुसार अघिल्ला वर्षसम्म करिब चार महिना होटल बन्द गर्नुपरे पनि यस वर्ष भने एक दिन पनि होटल खाली बस्नुपरेको छैन ।
उहाँले पछिल्लो पाँच वर्षयता ढोरपाटन आउने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको बताउनुभयो । अध्यक्ष अदैका अनुसार यो सिजनमा शुक्रबार र शनिबार करिब दुई सय तथा अन्य दिनमा ३० देखि ५० जना पर्यटक ढोरपाटन पुग्ने गरेका छन् । ढोरपाटनको प्रचारप्रसार बढेसँगै बुटवल, पोखरा, काठमाडौँ, चितवन, भैरहवा लगायत देशका विभिन्न स्थानबाट पर्यटक आउन थालेका छन् ।
“गत वर्ष यो समयमा ढोरपाटन सुनसान थियो, तर यसपालि दैनिकजसो पर्यटक आइरहेका छन्,” अध्यक्ष अदैले भन्नुभयो, “सडक विस्तारै सुधार हुँदै गएकाले आगामी वर्षदेखि बाह्रै महिना पर्यटकको चहलपहल हुने आशा गरिएको छ ।”
एक दशकअघि ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या न्यून भए पनि हाल प्रचारप्रसार र सुविधामा सुधार भएपछि बर्खायाममा हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । ढोरपाटन उपत्यकासँगै बुकीपाटन र जलजला क्षेत्रमा जाने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ ।
होटल व्यवसायी धीरेन्द्र घर्तीमगरका अनुसार खान र बस्नका लागि पर्याप्त सुविधा उपलब्ध हुन थालेपछि जाडो याममा समेत पर्यटक आउन थालेका हुन् । टाढाबाट आउने पर्यटकले अग्रिम रूपमा कोठा बुकिङ गर्ने गरेको उहाँले बताउनुभयो ।
नवलपुरबाट घुम्न आएका आशिष पुरीले ढोरपाटनको अत्यधिक चिसो भए पनि यहाँको प्राकृतिक सौन्दर्यले आकर्षित गरेको बताउनुभयो । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा देखिएका तस्बिर तथा भिडियोले आफूहरूलाई ढोरपाटन घुम्न प्रेरित गरेको उहाँको भनाइ छ ।
जाडोका कारण बोबाङ, अधिकारीचौर र निसीखोलाका स्थानीय बेंसी झरेका छन् । उनीहरू चैत महिनापछि मात्र ढोरपाटन फर्किने गरेका छन् । पाँच वर्षअघि थोरै मात्र होटल सञ्चालनमा रहेकामा हाल ढोरपाटन उपत्यकामा करिब ४० वटा होटल सञ्चालनमा छन् ।

