कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा
काठमाडौँ, १ माघ – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकर्ताको शिर कहिल्यै निहुरिन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवेशनस्थलमा आज नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै उहाँले नेपाली कांग्रेसलाई सदस्यहरूले गर्व गर्ने पार्टी बनाउने दृढ संकल्प व्यक्त गर्नुभयो ।
“जुन विश्वासका साथ तपाईंहरूले मलाई सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, त्यो विश्वासमा कसैको पनि शिर निहुरिने अवस्था आउन दिने छैन,” सभापति थापाले भन्नुभयो, “नेपाली कांग्रेसको शान जोगाउँछु ।
यो पार्टीमा लागेका तमाम साथीहरूले नेपाली कांग्रेस भएकोमा गौरव गर्ने वातावरण बनाउँछु । नागरिक अप्ठ्यारोमा पर्दा ‘कांग्रेस छ’ भन्ने अनुभूति गराउने काम पार्टीले गर्नेछ ।”
उहाँले विशेष महाधिवेशनलाई नेपाली कांग्रेसको इतिहास मात्र नभई आधुनिक नेपालको राजनीतिक इतिहासमा पनि महत्वपूर्ण घटनाका रूपमा व्याख्या गर्नुभयो । सभापति थापाले यसलाई भुइँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो राजनीतिक हस्तक्षेपको संज्ञा दिनुभयो ।
“भुइँ तहका कार्यकर्ता भनेका नागरिक हुन्, जनताका प्रतिनिधि हुन्,” उहाँले भन्नुभयो, “यो नागरिकले दलभित्र गरेको हस्तक्षेप हो, जसले पार्टीलाई नयाँ दिशा दिएको छ ।”
सभापति थापाले नेपाली कांग्रेस कुनै हालतमा नफुटेको स्पष्ट पार्दै वैधानिक प्रक्रिया अनुसार विशेष महाधिवेशन सम्पन्न भएकाले पार्टी विभाजन भएको भन्ने प्रश्न नै नउठ्ने दाबी गर्नुभयो ।
यसअघि केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले सभापति पदमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको औपचारिक घोषणा गर्नुभएको थियो ।

