निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
काठमाडौँ, २७ पुस – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई समेत निर्वाचन आचारसंहिताको दायराभित्र ल्याएको छ । आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत गरिने गतिविधिमा कडाइ गरिनेछ ।
आचारसंहितामा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले कोही कसैले सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन गर्न वा नक्कली साइट खोल्न नपाइने व्यवस्था गरिएको छ । त्यसैगरी, सामाजिक सञ्जालमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोग गरेर वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमानजनक वा द्वेषपूर्ण अभिव्यक्ति दिने कार्य गर्न नपाइने प्रबन्ध आचारसंहितामा गरिएको छ ।
कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भइसकेका सूचना वा सामग्रीलाई एआईको प्रयोग गरी वा नगरी तोडमोड गरेर निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, कमेन्ट, प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन गर्न वा गराउन पनि निषेध गरिएको छ ।
निर्वाचनको विश्वसनीयतामा असर पर्ने वा निर्वाचन आयोग, आयुक्त तथा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल प्रभाव पार्नेगरी अवाञ्छित आरोप, लाञ्छना वा टिप्पणी गर्न नपाइने व्यवस्था गरिएको छ । कसैको चरित्र हत्या गर्ने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानी गर्ने वा यस्तै प्रकृतिका सामग्री उत्पादन, प्रकाशन वा प्रसारण गर्न वा गराउन पनि आचारसंहिताले रोक लगाएको छ ।
त्यस्तै, मतदाता तथा मतदाताको गोप्यता भङ्ग गर्ने, निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित पार्ने कुनै पनि कार्य गर्न पाइने छैन । निर्वाचन आयोगले आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको जनाएको छ ।

