चालु आवको पहिलो त्रैमासिकमा जिल्ला प्रशासन कार्यालय मनाङ देशकै उत्कृष्ट

काठमाडौँ, १७ पुसः – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट ठहरिएको छ । गृह मन्त्रालयले गरेको मूल्याङ्कनमा मनाङले सबै जिल्लालाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो ।

मन्त्रालयले सार्वजनिक गरेको नतिजाअनुसार कुल २९ दशमलव २५ पूर्णाङ्कमध्ये मनाङले २८ दशमलव ७५ अङ्क प्राप्त गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमध्ये शीर्ष स्थानमा रह्यो । ‘ग’ वर्गका जिल्लामध्ये मनाङ पहिलो हुँदा सोही वर्गको जिल्ला प्रशासन कार्यालय रसुवाले २८ दशमलव ६८७५ अङ्कसहित दोस्रो स्थान हासिल गरेको छ ।

यस्तै, ‘ख’ वर्गका जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय धनकुटा २८ दशमलव ५ अङ्कसहित तेस्रो तथा स्याङ्जा २८ दशमलव ३७५ अङ्कसहित चौथो स्थानमा रहेका छन् । ‘ख’ वर्गकै जिल्ला प्रशासन कार्यालय पर्वत २८ दशमलव ३१२५ अङ्कसहित पाँचौँ र ‘क’ वर्गका जिल्लातर्फ जिल्ला प्रशासन कार्यालय ललितपुर २८ दशमलव २५ अङ्कसहित छैटौँ स्थानमा परेको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले विकट जिल्लामा रहेर जनताको सेवा गर्न पाउँदा गर्व लागेको बताउनुभयो । “सन्तुष्टि र आत्मसम्मानका आधारमा काम गर्दा त्यसको नतिजा आउँदा खुसी लाग्छ,” उहाँले भन्नुभयो ।

मनाङ उत्कृष्ट हुनुका कारणबारे प्रजिअ पौड्यालले सोलार प्रणालीमार्फत विद्युत् आपूर्ति नियमित गरी अनलाइन सेवा प्रवाह गरिएको, घुम्ती शिविर सञ्चालन गरी सबै पालिकामा पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरिएको तथा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाइएको जानकारी दिनुभयो । कार्यालयमा प्राप्त गुनासाहरू समयमै फर्छ्यौट गरिएको पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार जिल्लामा परेका उजुरी एक वर्षभित्र फर्छ्यौट गर्नुपर्ने प्रावधान रहे पनि मनाङमा अधिकांश उजुरी एक महिनाभित्रै टुंग्याइएको छ । साथै नेपाल–चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी स्थापना गर्न आवश्यक जग्गा व्यवस्थापन गरिएको र सडक पूर्वाधारलाई नियमित तथा व्यवस्थित बनाइएकाले सदरमुकाम आवागमन सहज भएको छ ।

“यी पहलहरूले जनता र सरकारबीचको दूरी घटाउँदै विश्वास र अपनत्व बढाएको छ,” प्रजिअ पौड्यालले भन्नुभयो । हाल मनाङमा तापक्रम माइनस १० डिग्रीसम्म पुगेको उल्लेख गर्दै उहाँले कठोर मौसम र जोखिमपूर्ण अवस्थाबीच पनि सेवा प्रवाहमा कुनै कमी हुन नदिइएको बताउनुभयो ।

इलाका प्रशासन कार्यालय फर्पिङका प्रमुख रहेका उपसचिव पौड्याललाई गृह मन्त्रालयले गत भदौ ४ गते मनाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो । मनाङ उपसचिवस्तरको प्रमुख जिल्ला अधिकारी रहने जिल्ला हो ।गृह सचिवसँग गरिएको कार्यसम्पादन सम्झौताअनुसारका मापदण्डहरू सबै कर्मचारी र सुरक्षाकर्मीको सहकार्यमा कार्यान्वयन गरिएको र त्यसकै परिणामस्वरूप उत्कृष्ट नतिजा प्राप्त भएको उहाँले बताउनुभयो ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व र प्रशासनिक कार्यशैलीका आधारमा प्रत्येक वर्ष नियमित रूपमा मूल्याङ्कन गर्दै आएको छ ।

Facebook Comments Box