मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटक १८ प्रतिशतभन्दा बढीले बढे

मुस्ताङ, १७ पुस – धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा वृद्धि भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा २५ हजार ४०३ जना बढी विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।

एक्याप जोमसोम कार्यालय प्रमुख राजेश गुप्ताका अनुसार सन् २०२५ मा समग्र पर्यटक आगमन १८ दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ । जनवरीदेखि डिसेम्बर ३१ सम्मको अवधिमा कुल एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक मुस्ताङ आएका छन् । सन् २०२४ मा भने एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए ।

गत वर्ष मुस्ताङ आएका पर्यटकमध्ये एक लाख ३२ हजार ८४७ जना सार्क राष्ट्रका र २८ हजार २७५ जना अन्य मुलुकका थिए । अघिल्लो वर्ष सार्क राष्ट्रबाट एक लाख नौ हजार ५४९ र अन्य राष्ट्रबाट २६ हजार १७० जना विदेशी पर्यटक आएको तथ्याङ्क छ ।

एक्यापका अनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा सार्क राष्ट्रतर्फ २३ हजार २९८ र अन्य राष्ट्रतर्फ दुई हजार १०५ जना विदेशी पर्यटकको वृद्धि भएको हो । यसअनुसार सार्क राष्ट्रबाट आउने पर्यटक १७ दशमलव ५७ प्रतिशत र अन्य राष्ट्रबाट आउने पर्यटक सात दशमलव ४४ प्रतिशतले बढेका छन् ।

हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन क्रमशः बढ्दै गए पनि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अपेक्षित रूपमा विदेशी पर्यटक वृद्धि हुन नसकेको एक्याप प्रमुख गुप्ताले बताउनुभयो ।

सन् २०२५ मा करिब ३० प्रतिशतसम्म विदेशी पर्यटक बढ्ने अनुमान गरिएको भए पनि सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनामा पर्यटक सङ्ख्या घट्दा लक्ष्यअनुसार वृद्धि हुन सकेन । आन्दोलनको प्रभावले सन् २०२४ को तुलनामा सन् २०२५ को सेप्टेम्बरमा तीन हजार ६३८, अक्टोबरमा ८५४ र नोभेम्बरमा ७० जना विदेशी पर्यटक कम आएका जनाइएको छ ।

एक्याप प्रमुख गुप्ताका अनुसार जनवरीदेखि अगस्त र डिसेम्बरको अन्तिमसम्म भने पर्यटक सङ्ख्यामा वृद्धि देखिएको छ । मुस्ताङ भ्रमण गर्ने पर्यटकमध्ये अधिकांश भारतीय रहेका छन् । एक्यापका अनुसार कुल विदेशी पर्यटकमध्ये ८२ प्रतिशत सार्क राष्ट्रका र १८ प्रतिशत अन्य मुलुकका छन् । सार्क राष्ट्रका पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेको जानकारी दिइएको छ ।

Facebook Comments Box