रवि लामिछाने र बालेन शाहबीच एउटै दलबाट निर्वाचनमा जाने ७ बुँदे सम्झौता

 काठमाडौं, १३ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गर्दै ७ बुँदे सम्झौता गरेका छन्।सम्झौताअनुसार रास्वपाको नेतृत्व रवि लामिछानेले गर्नेछन् भने आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिनेछ।

आगामी एक दशकका लागि मुलुकको मार्गचित्र प्रस्तुत गर्ने प्रतिबद्धतासहित गरिएको सम्झौतामा बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीभित्र आबद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत् राखिने उल्लेख छ। सम्झौतापत्रमा दुवैले आफ्नो–आफ्नो पदीय हैसियत उल्लेख नगरी नाममात्रै लेखेर हस्ताक्षर गरेका छन्।

सम्झौतामा राष्ट्रिय स्वतन्त्र पार्टी उल्लेख भए पनि रवि लामिछानेले सभापतिको हैसियतमा हस्ताक्षर गरेका छैनन् भने बालेन शाहले पनि मेयरको हैसियत खुलाएका छैनन्। सम्झौतापछि बालेन शाहले मेयर पदबाट राजीनामा दिएर पार्टी राजनीतिमा सक्रिय हुने सम्भावना देखिएको छ।

सम्झौताका पहिलो बुँदामा नवयुवा (जेन–जी) ले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिने र घाइते तथा शहीद परिवारका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। दोस्रो बुँदामा समुन्नति र सामाजिक न्यायका लागि नीतिगत, संस्थागत तथा संरचनागत सुधार गर्ने उल्लेख छ। नेपाललाई १० वर्षभित्र सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्यमा इमान्दारितापूर्वक समर्पित रहने उनीहरूको प्रतिवद्धता छ।

सम्झौतामा रवि लामिछाने र बालेन शाहलाई क्रमशः पहिलो र दोस्रो पक्षका रूपमा उल्लेख गर्दै बृहत् राजनीतिक एकताको उद्घोष गरिएको छ। पार्टीको नाम, झण्डा र चिन्ह पुरानै रहनेछ। सम्झौतापत्रमा स्पष्ट रूपमा भनिएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहनेछन्” र “आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुनेछन्।”

यसअघि पटक–पटक एकताको छलफल भए पनि सम्झौतापत्रमा कुलमान घिसिङ र उनी आवद्ध उज्यालो नेपाल पार्टीका बारेमा कुनै उल्लेख गरिएको छैन। यद्यपि, बृहत् एकताको क्रममा अन्य समूहलाई पनि समेट्ने संकेत गरिएको छ।सम्झौतामा पार्टी संगठनलाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता र अनुभवी विज्ञलाई योग्यता, समावेशिता र सार्वजनिक छविको आधारमा जिम्मेवारी दिने उल्लेख छ।

सम्झौता तत्काल कार्यान्वयन गर्ने योजना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी अभिलेख र दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिने जनाइएको छ। यससँगै बालेन पक्षका समानुपातिक उम्मेद्वारहरू पनि रास्वपाबाटै प्रतिस्पर्धा गर्नेछन्। सम्भवतः दुई दिनभित्र समानुपातिक उम्मेद्वारको सूची निर्वाचन आयोगमा बुझाइनेछ भने प्रत्यक्षतर्फको मनोनयनका लागि अझै करिब तीन साता समय बाँकी छ।

उनीहरूले आफ्नो अभियानलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा अघि बढाउँदै रास्वपाको सिद्धान्त, नेतृत्व र चिन्हमा गोलबद्ध हुन आह्वान गरेका छन्। साथै लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दामा अन्य परिवर्तनकामी शक्ति, समूह र व्यक्तिलाई पनि एकताका लागि आमन्त्रण गरिएको छ।

सम्झौतामा पार्टीका अन्य पदाधिकारीको भूमिका तथा उम्मेद्वार चयन र व्यवस्थापनका विषय स्पष्ट रूपमा उल्लेख गरिएको छैन। यसअघि पनि रवि लामिछाने र बालेन शाहबीच एकैसाथ निर्वाचनमा जाने विषयमा छलफल भए पनि टुंगो लाग्न सकेको थिएन।

उच्च अदालत तुलसीपुरको बुटबल इजलासको आदेशबाट रवि लामिछाने रिहा भएपछि पार्टी एकताको छलफलले तीव्रता पाएको हो। यस क्रममा दुवै पक्षले ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफल गरेका थिए, तर आइतबार बिहान भएको सम्झौतामा उनी सहभागी छैनन्।

Facebook Comments Box