निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न पाउने

काठमाडौँ, २ पुस – निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा अत्यधिक झण्डा प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारेको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगसम्बन्धी नयाँ प्रावधान समावेश गरेको हो ।

आयोगका अनुसार कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रमका क्रममा बढीमा १० वटा मात्र झण्डा प्रयोग गर्न पाउने छन् । झण्डाको अनावश्यक प्रयोग र दुरुपयोग रोक्न यस्तो व्यवस्था प्रस्ताव गरिएको आयोगले जनाएको छ ।

प्रस्तावित आचारसंहिताअनुसार उम्मेदवार वा राजनीतिक दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाइएको तीन बाइ चार फिट आकारको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न पाइनेछ । तर प्रचारप्रसारको उद्देश्यले कुनै पनि प्रकारका डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन तथा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नपाइने उल्लेख गरिएको छ ।

यस्तै, प्रस्तावित आचारसंहितामा १० वटा झण्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा दल वा उम्मेदवारको नाम र चिन्ह भएको एउटामात्रै तुल वा फ्लेक्स राख्न पाइने व्यवस्था गरिएको छ । निर्वाचन प्रचारका लागि घरदैलोमा जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस निकाल्न नपाइनेछ । प्रचारका क्रममा बाजागाजा वा झाँकीसहित जान पनि निषेध गरिएको छ ।

अनलाइन माध्यम, वेवपेज, टेलिभिजन, स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम तथा काउन्टरमा सन्देश, सडक नाटकजस्ता माध्यमबाट दल वा उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने प्रस्ताव गरिएको छ । तर राजनीतिक दल वा उम्मेदवारले बढीमा एउटा निजी तथा आधिकारिक वेवपेजमा प्रचार सामग्री राख्न सक्नेछन् ।

दलको झण्डा वा दल तथा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाएर सार्वजनिक रूपमा प्रदर्शन गर्न नपाइनेछ । यस्तै, कुनै पनि प्रकारको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायतका सवारी साधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचारप्रसार गर्न नहुने व्यवस्था प्रस्ताव गरिएको छ । निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउन यस्तो आचारसंहिता प्रस्ताव गरिएको निर्वाचन आयोगले जनाएको छ ।

Facebook Comments Box