एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना सुरु

चितवन, १ पुस – मुलुकमा हरेक चार वर्षमा गरिने राष्ट्रिय बाघ गणना आजदेखि औपचारिक रूपमा सुरु भएको छ। चितवनको सौराहामा आयोजित कार्यक्रममा उद्घाटन गर्दै बाघ गणनाको प्रारम्भ गरिएको हो।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा तथा वन तथा भू–संरक्षण विभागको समन्वयमा गणना गरिँदैछ। यसमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजिकल सोसाइटी अफ लण्डन (जेडएसएल) नेपालको सहयोग रहेको छ। नेपाली सेना, मध्यवर्ती क्षेत्र र सामुदायिक वन उपभोक्ता समितिहरू पनि सहयोगीका रूपमा परिचालित छन्।

देशभर करिब २५० प्राविधिक कर्मचारी परिचालन गरी साढे दुईदेखि तीन महिनाभित्र गणना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। गणनामा एक हजार १०० वटा अत्याधुनिक स्वचालित क्यामेरा प्रयोग गरिने विभागका महानिर्देशक बुद्धिसागर पौडेलले जानकारी दिनुभयो। क्यामेराबाट सङ्कलित तस्बिरको विश्लेषण गरी बाघको सङ्ख्या एकिन गरिनेछ।

निकुञ्ज विभागका अनुसार जनशक्ति परिचालन, उपकरण तथा अन्य व्यवस्थापनका लागि करिब तीन करोड रुपैयाँ खर्च लाग्ने अनुमान छ। क्यामेरा भने अघिल्ला गणनामा प्रयोग भएका सबै उपकरण नै पुनः प्रयोग गरिनेछन्।

नेपालमा स्वचालित क्यामेरा ट्रयाप विधिबाट बाघ गणना सन् २००९ देखि सुरु गरिएको हो। त्यस वर्ष गरिएको गणनामा नेपालमा १२१ वटा बाघ रहेका थिए। त्यसयता हरेक चार वर्षमा गणना हुँदै आएको छ। सन् २०१३, २०१८ र २०२२ मा गणना सम्पन्न भइसकेको छ भने यसपटक सन् २०२६ का लागि गणना हुन लागेको हो।

हिउँद याममा बाघ खुला स्थानमा बढी हिँडडुल गर्ने भएकाले यही समयलाई गणनाका लागि उपयुक्त मानिएको वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार पुस ३ गतेदेखि फिल्डमा क्यामेरा जडान गरिनेछ। बाघ पाइने क्षेत्रलाई चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँटा–लालझाडी गरी तीन मुख्य ब्लकमा विभाजन गरिएको छ।

क्यामेराबाट प्राप्त तथ्याङ्कको विश्लेषणपछि अन्तिम प्रतिवेदन आगामी जुलाई २९, अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा सार्वजनिक गर्ने तयारी गरिएको छ। बाघ गणना सम्पन्न भएपछि गैँडाको गणनासमेत गर्ने तयारी रहेको विभागले जनाएको छ।

पछिल्लो सन् २०२२ को गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको छ। चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी १२८ र बर्दियामा १२५ बाघ रहेका छन्। बाघको सङ्ख्या उल्लेख्य रूपमा बढेसँगै मानव–बाघ द्वन्द्व, बासस्थान व्यवस्थापन र दीर्घकालीन धान्ने क्षमताबारे बहस र अध्ययनसमेत अघि बढाइएको छ।

Facebook Comments Box