एमाले नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं, १ पुस – नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ । महासचिव पदमा ओली पक्षबाट शंकर पोखरेल र ईश्वर पोखरेल पक्षबाट सुरेन्द्र पाण्डे उम्मेदवार रहनुभएको छ ।

मतदान विद्युतीय भोटिङ मेसिनमार्फत गरिनेछ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार मतदानका लागि ८० वटा विद्युतीय मेसिन प्रयोग गरिनेछ । निर्वाचनमा कुल दुई हजार २६३ प्रतिनिधि सहभागी हुँदैछन् ।निर्वाचन आयोगका अनुसार मतदान सम्पन्न भएपछि भृकुटीमण्डपमै मतगणना गरिनेछ । मतपरिणाम घोषणा, प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम पनि सोही स्थानमा आयोजना गरिने एमालेले जनाएको छ ।

१४ पदमा निर्विरोध निर्वाचन

एमालेको अनुशासन आयोग र लेखा आयोगअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १४ जना पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् । अनुशासन आयोगको अध्यक्षमा प्रा.डा. भरतराज पहाडी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै, लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा घनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल निर्विरोध चयन हुनुभएको छ ।

केन्द्रीय सदस्यतर्फ युवा खुलामा नरेश रोकाय र सुशील थापा, मधेसी युवामा अमरकुमार यादव, मुस्लिम महिलामा खाजिदा खातुन सिद्दिकी, श्रमिक महिलामा कमलादेवी तामाङ र सिता लामा निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी, पछाडिएको महिलातर्फ बदमी कुँवरी बुढा (बोहरा) र प्रवासी दक्षिण एसियातर्फ हरिप्रसाद घिमिरे पनि निर्विरोध निर्वाचित भएका छन् ।

Facebook Comments Box