कृष्णप्रसाद यादव आज शपथ ग्रहण गर्दै मधेश प्रदेशको मुख्यमन्त्री

जनकपुरधाम, २१ मंसिर ( मधेश प्रदेशका नयाँ मुख्यमन्त्री कृष्णप्रसाद यादव आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। यादव कांग्रेस संसदीय दलका नेता हुन् र ७ दलको ७७ प्रदेश सभा सदस्यको समर्थनमा मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्रीको कार्यालयले आज शपथ ग्रहणसँगै यादवले सानो आकारको मन्त्रीमण्डल गठन गर्ने तयारी रहेको जनाएको छ। कांग्रेस नेता यादवको नियुक्ति नेकपा एमालेका नेता सरोज कुमार यादवको राजीनामापछि भएको हो। संविधानको धारा १६८(३) बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका सरोज यादवले मंसिर १७ गते राजीनामा दिएका थिए।

गत कार्तिक २३ गते राति एमालेका यादव मुख्यमन्त्री नियुक्त भए पनि सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र यदि विश्वासको मत पाउन नसकिए अर्को सरकार गठन गर्न आदेश दिएको थियो।

विश्वासको मत लिन नसक्दा सरोज यादवले राजीनामा दिएपछि कांग्रेस नेता यादवले कांग्रेससहित जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका ७७ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए।

Facebook Comments Box