सुदूरपश्चिम अपराजित रहँदै पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित

काठमाडौँ, १८ मङ्सिर — नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सोमबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै लगातार छैटौँ जीत दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको सो जीतसँगै सुदूरपश्चिमले १२ अंकसहित पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा चार विकेटको क्षतिमा १६९ रन बनायो। ओपनर क्रिस लिनले ५६ बलमा ७५ रनको योगदान दिंदै पारीको आधार तयार गरे। लिनले तीन छक्का र पाँच चौका प्रहार गरेका थिए। बिनोद भण्डारीले २१, पुनित मेहराले १३ तथा आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४/२४ रन जोडे।

बलिङतर्फ चितवनका सैफ जाइबले दुई विकेट लिए भने जर्ज स्क्रिमस र रञ्जित कुमारले एक–एक विकेट हात पारे। १७० रनको लक्ष्य पछ्याएको चितवन १७.१ ओभरमा १२० रनमै अलआउट भयो। चितवनका लागि रवि बोपाराले २९ र देव खनालले २८ रन बनाए। अर्जुन साउँदले १६ तथा कुशल मल्लले १५ रनको योगदान दिए। अन्य कुनै पनि बल्लेबाजले दोहोरो अंकमा रन जोड्न नसक्दा चितवनको पारी दबाबमै धराशयी भयो।

सुदूरपश्चिमका पुनित मेहराले तीन विकेट लिए। हिक्मत महरा, दीपेन्द्र सिंह ऐरी, अभिनाश बोहरा र इशान पाण्डेले एक–एक विकेट हात पारे। चितवनका तीन ब्याटर रनआउट भएका थिए। यस जीतसँगै सुदूरपश्चिम रोयल्स अपराजित रहँदै तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

Facebook Comments Box