बिहार विधानसभाको दोस्रो चरणको मतदान आज हुँदै, नेपालका नाका बन्द
विराटनगर, २५ कात्तिक – बिहारको विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज सञ्चालन हुँदैछ। पूर्वी नेपालसँग सीमा जोडिएका २० जिल्लाका १२२ विधानसभा निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ। यस निर्वाचनमा १,३०२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन्।
बिहार विधानसभा निर्वाचनका लागि नेपालसँग जोडिएका नाकाहरू बन्द गरिएको छ। मोरङ र सुनसरीका सीमा नाका शनिबार बेलुकादेखि बन्द गरिएको थियो। मतदान सकिएपछि ती नाका पुनः खुल्ने जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी दिएको छ। मतदाता सङ्ख्या करिब ३ करोड ७० लाख रहेको छ, जसमा १ करोड ७४ लाख महिला मतदाता रहेका छन्। मतदानका लागि ४५,३९९ मतदान केन्द्र तोकिएको छ।
पहिलो चरणको मतदान नोभेम्बर ६ मा १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा भएको थियो, जसमा ६५.०८ प्रतिशत मतदाता सहभागी भएका थिए। अन्तिम चरणको मतदानले बिहारमा नयाँ सरकार गठन र राजनीतिक भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ।

