मधेश प्रदेशमा एमाले, संघीय समाजवादी र राप्रपाबाट एक–एक मन्त्री नियुक्त
धनुषा, २४ कात्तिक – मधेश प्रदेशमा नेकपा (एमाले), संघीय समाजवादी पार्टी र राप्रपाको संयुक्त गठबन्धन सरकार गठन गरिएको छ । सबैभन्दा ठूलो दलको नाताले मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद् गठन गरिएको हो ।
सरकारमा एमालेका लखन दास, संघीय समाजवादीकी बिमला अन्सारी र राप्रपाका कञ्चन बिच्छा मन्त्री बनेका छन् । संघीय समाजवादी पार्टी र राप्रपाको प्रदेशसभामा एक–एक सिट रहेको छ । यसअघि संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री बनेका लोसपा नेता जितेन्द्र सोनलले कात्तिक २३ गते राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम सबैभन्दा ठूलो दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
स्वास्थ्य उपचारका लागि काठमाडौं जाँदै गरेको भन्दै जनकपुरबाट प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले बर्दिबासस्थित होटल पानसमा नै यादवलाई मुख्यमन्त्री नियुक्त गरी शपथ ग्रहण गराएकी थिइन् । सो कदमलाई लिएर उनको व्यापक आलोचना भइरहेको छ ।

