गठबन्धनलाई केही गर्नुपर्दैन, छ्यास्स हावा खोलिदिए ढल्छ : ओली

काठमाडौं, १७ चैत – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धन आफूहरूले रहन दिएकाले टिकिरहेको बताएका छन्। भ्रातृसंगठन अनेरास्ववियु केन्द्रीय कमिटीको प्रथम बैठक तथा विस्तरित भेललाई शुक्रबार सम्बोधनका क्रममा ओलीले यस्तो बताएका हुन्।

ओलीले एमाले फुटाएर ठूलो भाग खान हिँडेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धन र आफ्नो अस्तित्व जोगाउन दिनदिनै बालुवाटार धाइरहेको पनि बताए। तर उनले यो गठबन्धनलाई सजिलै तोड्न कुनै समस्या नरहेको पनि तर्क गरे।

‘यो गठबन्धन तबसम्म रहन्छ, जबसम्म हामी यसलाई रहन दिन्छौँ। हामीले धेरै केही गरिरहनु पर्दैन। यसलाई रोक्न चारवटा चक्का फुकाल्नुपर्छ र? इन्जिन बन्द गर्नुपर्छ र? केही गर्नुपर्दैन’, उनले भने, ‘छ्यास्स हावा खोलिदिएपछि गठबन्धन सिद्धिन्छ।’

ओलीले नेपाली कांग्रेस सधैँ प्रतिगामी बाटोमा हिँडेको पनि बताए। ‘कांग्रेसलाई राम्रा कामका लागि राम्रा मान्छेसँग मिल्न गारो छ। राम्रो कामका लागि अँचेटेर ल्यायो फेरि उम्कि हाल्छ’, उनले भने, ‘२००८ साल कात्तिक २० गते चीनकाजी श्रेष्ठको गोली हानी हत्या हुँदा बिपी कोइराला प्रधानमन्त्री थिए। अहिले शेरबहादुर देउवा छन्। देश बाहिर गइरहेका बेला म केही पनि भन्दिनँ। यहाँ नभएका बेला लखेट्यो भन्छन् फेरि।’

Facebook Comments Box