काठमाडौँ, २४ कात्तिक – मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी छन् । पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । उनलाई आइतबारकै मितिमा नियुक्तिपत्र प्रदान गरिएको छ ।
प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै आज बिहान जनकपुरबाट काठमाडौँ गएकी थिइन् । त्यस क्रममा मुख्यमन्त्री सोनलले उनलाई स्वास्थ्यलाभको कामना गर्दै बिदाइ गरेका थिए । पत्रकारहरूसँग कुरा गर्दै सोनलले भण्डारी स्वस्थ भएपछि मात्र राजनीतिक प्रक्रिया अघि बढ्ने बताएका थिए । तर केही घण्टामै प्रदेश प्रमुख भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र सार्वजनिक भयो ।
गत असोज २९ गते सातदलीय गठबन्धनको समर्थनमा लोसपा नेता सोनल मुख्यमन्त्री बनेका थिए । विश्वासको मत नपाउने अवस्था बनेपछि उनले कात्तिक २२ गते राजीनामा दिएका थिए । सोनल संविधानको धारा १६८ को उपधारा (२) अनुसार नियुक्त भएका थिए ।
राजीनामा स्वीकृत भए पनि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान नगरी संविधानको धारा १६८(३) अनुसार एमालेका यादवलाई मुख्यमन्त्री बनाउने तयारी गरेकी थिइन् भन्ने आशंका गठबन्धनका नेताहरूमाझ पहिले नै थियो । यही कारण आइतबार गठबन्धनका कार्यकर्ताहरूले प्रदेश प्रमुख कार्यालय र मधेश भवन अगाडि नाराबाजी गर्दै संविधानको धारा १६८(२) बमोजिम नै सरकार गठन गर्न माग गरेका थिए ।
शनिबार बेलुकी गठबन्धनका नेताहरूले प्रदेश प्रमुख भण्डारीसँग भेटेर छलफलसमेत गरेका थिए । त्यसैबेला मुख्यमन्त्री सोनलले पत्रकारहरूलाई भण्डारीले आफूहरूसँग परामर्श गरेरमात्र राजनीतिक निर्णय लिने आश्वासन दिएको बताएका थिए ।
तर अस्वस्थ भएको कारण जनाउँदै काठमाडौं प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले जनकपुरकै एक होटल (होटल पानस) मा कात्तिक २३ गतेको मितिमा संविधानको धारा १६८(३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र जारी गरेकी थिइन् । त्यही होटलमै उनले यादवलाई शपथ ग्रहण गराएकी थिइन् । यो घटना सार्वजनिक भएपछि पूर्वमुख्यमन्त्री सोनलले प्रदेश प्रमुख भण्डारीले ‘मधेशको अस्मिता समाप्त पार्ने खेल’ खेलेको आरोप लगाएका छन् ।