रासायनिक मल किसानसम्म सहज पुग्ने गरी ‘अनलाइन प्रणाली’ विकास हुँदैछ : मन्त्री परियार

पर्सा, २३ कात्तिक — कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारले सरकारी अनुदानमा वितरण हुने रासायनिक मल प्रणालीलाई किसानमैत्री, पारदर्शी र न्यायोचित बनाउन आवश्यक अनलाइन संरचना विकास गर्न लागिएको जानकारी दिनुभएको छ।

शनिबार पर्सा र बाराका कृषि तथा पशुपन्छी कार्यालयको निरीक्षण र किसानहरूसँगको छलफल कार्यक्रममा मन्त्री परियारले रासायनिक मल वितरणमा कतै न कतै समस्या रहेको भन्दै यस प्रणालीलाई वास्तविक कृषकमैत्री बनाउने प्रयास भइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “सरकारले अनुदानमा उपलब्ध गराएको मल वास्तविक किसानले सहज रूपमा प्राप्त गर्न सकिरहेका छैनन्। त्यस्ता गुनासो सम्बोधन गर्न, कुन किसानले कति मल पायो भन्ने विवरण अनलाइन प्रणाली मार्फत हेर्न सकिने संरचना निर्माण गर्न लागेको छ। सम्भवतः यो प्रणाली छिट्टै सञ्चालनमा आउनेछ।”

मन्त्री परियारले भने कि मल वितरणमा पालिका, सहकारी संस्था, फर्म वा कम्पनीको मनलाग्दी वा बदमासीका कारण वास्तविक किसानसम्म मल पुग्न नसकेको समस्या रहिआएको छ। नयाँ प्रणालीले किसानले प्राप्त गर्ने र नपाउने दुवै पक्षको मूल्याङ्कन गर्न सहज बनाउनेछ र पहुँचवालाको मनलाग्दी समाप्त गर्ने अपेक्षा गरिएको छ।

उहाँले थप्नुभयो, “सरकारी अनुदानको मल कुन सहकारीमा कति पुगेको, कुन–कुन किसानले प्राप्त गरे भन्ने तथ्य अनलाइनबाटै हेर्न सकिने व्यवस्था निर्माण भइरहेको छ। यसले रासायनिक मलको दुरुपयोग रोक्न सहयोग पुग्नेछ।” हाल सरकारले युरिया प्रतिकिलो रु १४, डीएपी प्रतिकिलो रु ४३पोटास प्रतिकिलो रु ३१ मूल्यमा आयात गर्दै आएको छ।

मन्त्री परियारका अनुसार सरकारले बर्सेनि करिब ४.५ लाखदेखि ५ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्छ, तर किसानको माग अझै पर्याप्त छैन। उहाँले किसानलाई प्राङ्गारिक मल प्रयोगमा अग्रसर हुन पनि आग्रह गर्नुभयो।अर्को प्रसङ्गमा मन्त्री परियारले विगतमा प्रतिक्विन्टल रु ७० दिने उखु अनुदान निरन्तर जारी राख्न मन्त्रिपरिषद्मा सिफारिस गरिएको जानकारी दिनुभयो।

त्यसैगरी, उहाँले कृषिमा यान्त्रिकीकरण आवश्यक भएको बताउँदै कृषि औजार अनुसन्धान केन्द्र रानीघाटका प्रमुख सचिन मिश्रकृषि अनुसन्धान निर्देशनालय परवानीपुरका प्रमुख विश्वेश्वरप्रसाद यादवसहित अन्य विशेषज्ञसँग भेटेर कृषकलाई आधुनिक उपकरण र यान्त्रिकीकरणमार्फत उत्पादन बढाउन सकिने सुझावहरू लिनुभएको छ।

राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमका उप प्रमुख डा अजित झालेले उन्नत जातका पन्छीको अण्डा अध्ययनका लागि सहज वातावरण मिलाउन आवश्यक रहेको बताएका छन्। मन्त्री परियारले वीरगञ्जस्थित साल्टर ट्रेडिङ कर्पोरेसनकृषि सामग्री कम्पनी प्रादेशिक कार्यालयमा मौज्दात रासायनिक मल तथा नुनको उपलब्धता समेत अवलोकन गर्नुभएको थियो। त्यस्तै, राष्ट्रिय उखु अनुसन्धान कार्यक्रम, बाराका किसान र विभिन्न क्षेत्रका कृषकसँग छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ।

Facebook Comments Box