अत्यावश्यकबाहेक नारायणगढ–मुग्लिन–मलेखु सडकखण्डमा यात्रा नगर्न आग्रह
चितवन, १५ कात्तिक – अविरल वर्षासँगै पहिरोको जोखिम उच्च बनेपछि नारायणगढ–मुग्लिन र मुग्लिन–मलेखु सडकखण्डमा अत्यावश्यकबाहेक यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ। प्रशासनले आज साँझ जारी गरेको सूचनामा भनिएको छ, “बिहीबारदेखि स–साना पहिरोहरू निरन्तर खसिरहेकाले अत्यावश्यकबाहेक उक्त सडक खण्डमा यात्रा नगर्न अनुरोध गरिन्छ।”
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार हाल तुइनभिरलगायत विभिन्न स्थानमा खसेका पहिरो हटाएर सडक अस्थायी रूपमा सञ्चालनमा ल्याइएको छ। तर वर्षा जारी रहेकाले अझै पनि ठूला पहिरो खस्ने उच्च जोखिम रहेको उनले बताए। “सडक जोखिमयुक्त भएकाले सकभर यात्रा नगर्नुहोस्, गर्नै परे उच्च सावधानी अपनाउनुहोस्,” प्रजिअ अर्यालले भने।
वर्षा र पहिरोको अवस्था थप गम्भीर भएमा नारायणगढ–मुग्लिन र मुग्लिन–मलेखु सडक खण्डमा कुनै पनि बेला सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न सकिने प्रशासनले जनाएको छ। यात्रा गर्नु अघि सडकको अवस्थाबारे जानकारी लिनका लागि जिल्ला प्रशासन कार्यालयले प्रहरी सूचना अधिकारी (९८५५०१३९९९) र ट्राफिक प्रहरी कार्यालय प्रमुख (९८५५०१७०९९) का नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

