बुटवल–भैरहवा औद्योगिक करिडोरका १० उद्योगको बिजुली काटियो

बुटवल, ८ कात्तिक – ट्रंकलाइन महसुल विवादमा रहेका बुटवल–भैरहवा औद्योगिक करिडोरका १० उद्योगको विद्युत् आपूर्ति नेपाल विद्युत् प्राधिकरणले शुक्रबार साँझदेखि बन्द गरेको छ। प्राधिकरणले पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेष्ट रोलिङ, एसआर स्टिल, एसआर फुड, भलबारी स्वचालित चामल उद्योग, घराना फुड्स, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट र श्याम प्लास्टिक का लाइन काटेको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूले जानकारी दिए।

उद्योगीहरूले ट्रंकलाइनबाट बिजुली खपत गरेको कुनै माग वा सहमति नभएको भन्दै बक्यौता तिर्न अस्वीकार गर्दै आएका छन्। उनीहरूको भनाइमा, चार वर्षपछि ६७ प्रतिशत बढी महसुलसहितको बिल पठाइएको छ, जसमा “माग र खपतको प्रमाणै छैन।”

सन् २०७५ मा विद्युत् प्राधिकरणकै समितिले यस करिडोरका उद्योगहरू “आन्तरिक लोड मिलानका क्रममा मात्र ट्रंकलाइनको परिभाषामा परेका” भन्दै सामान्य दरमा महसुल लिनुपर्ने निष्कर्ष निकालेको थियो। तर, गत असोजमा ऊर्जामन्त्री कुलमान घिसिङको अध्यक्षतामा बसेको सञ्चालक समितिले विवाद पुनरावलोकन गर्ने समिति नै बदर गरेपछि उद्योगीहरूले न्याय पाउन नसकेको गुनासो गरेका छन्।

साहूले भने, “हामीले ट्रंकलाइन माग वा प्रयोग गरेको प्रमाण देखाए प्राधिकरणलाई महसुल तिर्छौं, तर माग नगरेको बिजुलीको बक्यौता तिर्नु अन्याय हो।” उद्योगीहरूका अनुसार, विवादित अवधिमा निरन्तर विद्युत् आपूर्ति नभएकाले “प्रिमियम दरमा महसुल” लिन कानुनी आधार छैन।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यका अनुसार, जबरजस्ती महसुल तिराउन खोजिए डेढ दर्जन उद्योग स्थायी रूपमा बन्द हुने, २०–२५ हजार श्रमिक बेरोजगार हुने र बैंक–वित्तीय संस्थाको लगानी जोखिममा पर्ने अवस्था आउन सक्छ।

Facebook Comments Box