गण्डकी प्रदेशमा ६५ सवारीसाधन चोरी, १७ मात्र फेला

बागलुङ, ७ कात्तिक – गण्डकी प्रदेशमा सवारीसाधन चोरी हुने घटनाहरू बढ्दो क्रममा छन्, तर फेला पर्ने दर निकै न्यून देखिएको छ। गत आर्थिक वर्षमा प्रदेशभर ६७ वटा सवारीसाधन चोरी भएका थिए, जसमा चारपाङ्ग्रे २ र दुइपाङ्ग्रे ६५ वटा रहेका थिए। तर तीमध्ये हालसम्म मात्र १७ वटा सवारी फेला परेका छन् — १ चारपाङ्ग्रे र १६ दुइपाङ्ग्रे। बाँकी ४८ वटा सवारी अझै हराएको सूचीमै छन्।

चालु आर्थिक वर्षमा हालसम्म २ वटा सवारी चोरी भएको उजुरी परेको छ, तर दुवै सवारी अहिलेसम्म फेला परेका छैनन्। प्रहरीका अनुसार अधिकांश सवारी राति घरबाट वा पार्किङ स्थलबाटै चोरी हुने गरेका छन्। गत माघ ११ गते कुश्मा नगरपालिका–५, पर्वतका सुजन खत्रीको मोटरसाइकल बागलुङ नगरपालिका–३ गुठीस्थित घरको पार्किङबाट चोरी भएको थियो।

उनले उजुरी दिए पनि अहिलेसम्म सवारी भेटिएको छैन। त्यस्तै, बागलुङकै साजन आचार्यको मोटरसाइकल नवदुर्गा पर्वका बेला कालिका मन्दिरको पार्किङबाट चोरी भएको थियो। चोरीको दृश्य सिसीटिभीमा कैद भए पनि मोटरसाइकल अझै फेला परेको छैन।

सबैभन्दा बढी चोरी कास्कीमा

प्रदेशका ११ जिल्लामध्ये कास्की सवारी चोरीमा सबैभन्दा प्रभावित जिल्ला बनेको छ। गत आर्थिक वर्षमा कास्कीमा १ चारपाङ्ग्रे र ४१ दुइपाङ्ग्रे गरी ४२ सवारी चोरी भएको उजुरी परेको थियो। तीमध्ये १५ वटा फेला परे पनि २७ दुइपाङ्ग्रे अझै हराइरहेका छन्। चालु आर्थिक वर्षमा भने कास्कीमा नयाँ चोरीको उजुरी परेको छैन।

नवलपुरमा गत वर्ष १६ दुइपाङ्ग्रे चोरी भएका थिए, तर एउटा पनि फेला परेको छैन। यस वर्ष पनि १ दुइपाङ्ग्रे सवारी हराएको उजुरी परेको छ।
बागलुङमा गत वर्ष १ चारपाङ्ग्रे र ३ दुइपाङ्ग्रे सवारी हराएका थिए, जसमध्ये २ सवारी फेला परेका छन्। अहिले पनि ३ दुइपाङ्ग्रे हराइरहेका छन्।
तनहुँमा २ दुइपाङ्ग्रे चोरी भएका थिए, जसको खोजतलास अझै जारी छ।
म्याग्दीमा गत वर्ष चोरी भएको १ दुइपाङ्ग्रे सवारी पनि अझै भेटिएको छैन।

अपराधी अझै पत्ता लागेन

हराएका सवारी फेला परे पनि चोरीमा संलग्न व्यक्तिहरू अहिलेसम्म पक्राउ परेका छैनन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार, फेला परेका सवारी प्रायः व्यावारिसे अवस्थामा भेटिएका हुन्। “सवारी फेला पार्ने कामसँगै चोरीमा संलग्न व्यक्तिको पहिचानका लागि अनुसन्धान भइरहेको छ,” भारतीले बताए।

उनका अनुसार, चोरी भएका सवारीबारे सूचना प्राप्त हुनासाथ प्रहरी संवेदनशील भएर खोजी कार्य अघि बढाउँछ, तर धेरैजसो सवारी अन्य प्रदेश वा देशमा पु-याइने भएकाले फेला पार्न कठिन भइरहेको छ।  गण्डकी प्रदेशमा सवारी चोरी नियन्त्रणका प्रयास भइरहे पनि फेला पार्ने दर र अपराधी पहिचानमा चुनौती यथावत् छ। नागरिकहरूलाई पनि राति वा सार्वजनिक स्थलमा सवारी सुरक्षित राख्न सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।

Facebook Comments Box