कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा पूर्वी पहाड
मोरङ, ७ कात्तिक – कोशी प्रदेश सरकारले प्रदेशको पर्यटन प्रवर्द्धनका लागि सन् २०८२ लाई “पर्यटन वर्ष”का रूपमा मनाइरहेको छ। छिमेकी भारतसहित तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको यो अभियानले अहिले छ महिना पूरा गरेको छ। भारतको बिहारका कमलेश शर्मा हाल आफ्नो परिवारका चार जनासहित नेपाल भ्रमणमा छन्।
“पहिले साथीहरूसँग नेपाल आएको थिएँ, तर योचोटि परिवारसँग पहिलोपटक आएको हुँ,” इलामको कन्याममा भेटिएका शर्माले बताए। उनका अनुसार यसपटकको यात्रा अघिल्ला वर्षभन्दा सहज र रमाइलो भएको छ। उनले भने, “यहाँको वातावरण शान्त छ, होटलहरू सस्ता र सेवा उत्कृष्ट छन्, त्यसैले धेरै भारतीय नागरिक नेपाल घुम्न रुचाउँछन्।”
पर्यटन वर्षका पहिलो तीन महिना (वैशाख, जेठ, असार)मा सरकारका तर्फबाट विभिन्न कार्यक्रम सञ्चालन भए पनि पछिल्ला महिनामा प्रचारप्रसार केही सुस्त देखिएको छ। ‘कोशीको गौरव, हिमालको शान – पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारासहित अघि बढाइएको अभियानलाई सफल बनाउन प्रदेश सरकारसँगै निजी क्षेत्र पनि सक्रिय रूपमा जुटेको कोशी पर्यटन वर्ष २०८२ का सह–संयोजक भविष श्रेष्ठले बताए। उनका अनुसार धार्मिक, प्राकृतिक, सांस्कृतिक, स्वास्थ्य, शिक्षा र खेलकुद पर्यटनका साथै वैकल्पिक गन्तव्यहरू पनि आकर्षणमा छन्।
कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले पर्यटन वर्ष कार्यक्रम ल्याएको हो। मुख्यमन्त्री हिक्मतकुमार कार्कीका अनुसार ऊर्जा, जलविद्युत्, पर्यटन र जडीबुटी जस्ता क्षेत्रमा लगानी विस्तार गरेर व्यापार घाटा र वैदेशिक ऋण घटाउने लक्ष्य लिइएको छ।
श्रेष्ठका अनुसार प्रदेशमा करिब पाँच सय होटल सञ्चालनमा छन्, जसमध्ये डेढ सय होटल वानस्टारदेखि फाइभस्टार स्तरका छन्। यी होटलहरूमा दैनिक करिब तीन हजार पर्यटक बस्न सक्ने क्षमता छ। यद्यपि, पछिल्लो बाढी–पहिरोले पूर्वी पहाडी जिल्लाका पर्यटनस्थलहरूमा केही असर पुर्याएको उनको भनाइ छ। उनले छठ पर्वपछि प्रचारप्रसार अभियानलाई अझ सक्रिय बनाइने बताए।
भौगोलिक, सांस्कृतिक र धार्मिक विविधताले कोशी प्रदेशलाई आकर्षक पर्यटन गन्तव्य बनाएको छ। यहाँ सगरमाथाजस्ता विश्वकै सर्वोच्च शिखरदेखि कचनकवलजस्तो समुद्री सतहबाट ७० मिटर उचाइमा रहेको नेपालको होचो भूभागसम्म फैलिएर अनौठो भौगोलिक विविधता पाइन्छ। इलामको श्रीअन्तु डाँडामा सूर्योदय अवलोकन गर्न दैनिक हजारौँ पर्यटक पुग्छन् भने कोशीटप्पु र वेतना सिमसारमा चराचुरुङ्गी र कछुवाले आकर्षण थप्छन्।
प्रदेश सरकारले १३ पर्यावरणीय गन्तव्य र १० ट्रेकिङ मार्ग सूचीबद्ध गरेको छ। सरकारी तथ्याङ्कअनुसार सगरमाथा अवलोकन गर्न आउने पर्यटकमध्ये ४३ प्रतिशत विदेशी र ५७ प्रतिशत स्वदेशी छन्। धनकुटाको छिन्ताङ, ताप्लेजुङको पाथिभरा, खोटाङको हलेसी र सुनसरीको बराहक्षेत्र प्रमुख धार्मिक स्थल हुन्। त्यसैगरी इलामको चियाबारी, धनकुटाको भेडेटार, भोजपुरको ट्याम्केमयुङडाँडा र पाँचथरको साधुटारजस्ता स्थान प्राकृतिक सुन्दरताका प्रतीक बनेका छन्।
सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से र चोयुल हिमशृङ्खलाले विदेशी पर्यटकलाई लोभ्याइरहेका छन्। सगरमाथा, मकालु र कञ्चनजङ्घा बेस क्याम्पसम्मका ट्रेक साहसी र रोमाञ्चक मानिन्छन्। फाल्गुनन्द ट्रेकिङ, मुन्दुम ट्रेल र सभापोखरी ट्रेक जस्ता मार्गहरू वातावरणमैत्री पर्यटनका उत्कृष्ट उदाहरण हुन्। कोशी पर्यटन वर्ष २०८२ को लक्ष्य पूर्वी नेपाललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन नक्सामा अझ प्रष्ट रूपमा स्थापित गर्नु हो — जहाँ हिमाल, संस्कृति र आतिथ्यको सम्मिश्रणले हरेक आगन्तुकलाई आकर्षित गर्छ।

