चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र

काठमाडौँ, ३ कात्तिक – चालु आर्थिक वर्षका लागि लक्ष्य गरिएको ६ लाख मेट्रिक टन रासायनिक मलमध्ये हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको आयातका लागि बोलपत्र आह्वान गरिएको छ। किसानलाई सहज रूपमा मल उपलब्ध गराउने उद्देश्यले सरकारले आवश्यक तयारी पूरा गरेको जनाएको छ। यस प्रयोजनका लागि सरकारले रु २८ अर्ब ८२ करोड १४ लाख बराबरको बजेट विनियोजन गरेको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत असोज मसान्तसम्म एक लाख ९४ हजार ८५ मेट्रिक टन मल आपूर्तिको चरणमा रहेको छ। त्यसमध्ये कृषि सामग्री कम्पनीले ३३ हजार ३३८ मेट्रिक टन यूरिया तथा अन्य मल गरी कूल एक लाख १५ हजार ४०५ मेट्रिक टन आपूर्ति गरेको छ भने साल्ट ट्रेडिङ कर्पोरेशनले ५७ हजार ६७० मेट्रिक टन यूरिया सहित कूल ७८ हजार ६८० मेट्रिक टन आपूर्ति गरेको छ।

मन्त्रालयका अनुसार हाल एक लाख आठ हजार ९०८ मेट्रिक टन मल मौज्दात छ। त्यसमा कृषि सामग्री कम्पनीमा डिएपी, यूरिया र पोटास गरी ६३ हजार ८०० मेट्रिक टन तथा साल्ट ट्रेडिङ कर्पोरेशनमा ४५ हजार १०८ मेट्रिक टन मल रहेको छ। मन्त्रालयले हिउँदे बालीका लागि पर्याप्त मात्रामा मल मौज्दात रहेको जनाएको छ। गत साउनदेखि असोज मसान्तसम्म एक लाख ३२ हजार ८०७ मेट्रिक टन रासायनिक मल बिक्री भएको समेत मन्त्रालयले जानकारी दिएको छ।

Facebook Comments Box